
काठमाडौं । निर्वाचन गराउने म्यान्डेट पाएर प्रधानमन्त्री बनेका सुशीला कार्की अहिले फुर्सदमा छन् । हिजो मुगुको रारा ताल र हुम्लाको भ्रमण गरेर उतै बसेका उनी आज जनकपुर जाँदैछन् ।
हुम्लाबाट केहीबेर अघि सुर्खेत अवतरण गरेका कार्की त्यतैबाट जनकपुर जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले प्रधानमन्त्री सुर्खेतबाट सिधै जनकपुर आइपुग्ने जानकारी दिए । उनी साढे ९ बजे जनकपुर आइपुग्ने कार्यसूची रहेको लुईंटेलले बताए ।
उनको त्यहाँ औपचारिक कुनै कार्यक्रम छैन् । उनले जानकी मन्दिरको दर्शन गर्ने र सुरक्षा प्रमुखलाई निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गरेकोमा धन्यवाद दिने कार्यक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेका कार्कीले शान्तिपूर्ण चुनाव सम्पन्न गराएर सत्ता हस्तान्तरणको चरणमा रहेका छन्। जननिर्वाचित सांसदहरुले प्रमाणपत्र पाइसकेका छन् । आगामी चैत १२ गते उनीहरुको शपथ ग्रहण रहेको छ । त्यस लगत्तै १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् ।
प्रधाननम्त्री कार्कीको साथमा उनका श्रीमान दुर्गा सुवेदी, प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ रहेका छन् ।











