Logo
Logo

रक्षा बमलाई जेनजी युवाहरूले नै किन लखेटे ?


1.1k
Shares

काठमाडौं । जेनजी अभियन्ता रक्षा बम बिहीबार माइतीघरमा प्लेकार्ड देखाउन पुग्दा अप्रिय स्थितिको सामना गर्नु परेको छ । सरकारविरुद्ध प्रदर्शनरत जेनजी युवा–युवती र घाइतेहरू उनीमाथि नै खनिएपछि उनले अप्रिय स्थितिको सामना गर्नुपरेको हो ।
केही दिनदेखि जेन–जी अलाइन्सको नेतृत्वमा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको पहिलो दिनमा रक्षा पनि सहभागी थिइन् । त्यसपछि तीन दिन उनी अनुपस्थित रहिन् । हिजो दिउँसो फेरि आफ्नो समूहका अभियन्ता युजन राजभण्डारीसँग उनी प्रदर्शनमा भाग लिन पुगिन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरुमा रक्षा माइतीघर पुग्नासाथ तनावको स्थिति बनेको थियो । मुखमा मास्क लगाएर प्ले कार्ड बोकेर बसेकी रक्षामाथि जेन–जी र घाइतेहरुले हाँपझाप सुरू गरे । सरिस्मा नाम गरेकी एक जेन–जी युवतीले उनलाई नराम्ररी थर्काइन् ।

एक प्रत्यक्षदर्शीका अनुसार विवाद हुनुअघि सरिस्माले सुरूमा युजनसँग हात मिलाएकी थिइन् । त्यसपछि रक्षातिर हात लम्काइन् । तर, रक्षाले ‘मेरो हातमा रगत लागेको छ, नो ह्यान्ड्सेक’ भनेपछि सरिस्मा भड्किएकी थिइन् । उनी रक्षामाथि खनिन थालिन् । केही जेन–जी घाइतेहरूले पनि उनलाई साथ दिए ।

सरिस्माले रक्षामाथि जेन–जी आन्दोलन हाइज्याक गरेर नेता बनेको आरोप लगाइन् । भित्रभित्र प्रधानमन्त्री तथा गृहमन्त्रीसँग साँठगाँठ गरेर माइतीघरमा विरोधको नाटक गर्न आएको भन्दै हप्काइन् ।

सरिस्माले उनलाई भनिन्, ‘गृहमन्त्री आफूले आफूलाई राष्ट्रियसभामा नियुक्त गर्दा प्रोब्लम भएको छैन तपाईंलाई ? तपाईंहरूले नै उहाँलाई गृहमन्त्री बनाएको होइन ? अहिले विरोध किन ? होला तपाईंबाट गल्ती भयो, गलत मान्छेलाई लानुभयो । (रक्षा झिनो स्वरमा भन्छिन्– गलत मान्छे होइन) अहिले किन यहाँ आउनुहुँदैछ तपाईँ ? प्रधानमन्त्रीलाई अस्ति भर्खर आफैँ एक्लै भेटेर आउनुभयो । गृहमन्त्रीले रातिको दुई बजे फोन गर्दा पनि उठाउनुहुन्छ । बीबीसीलाई तपाईँको नाम गृहमन्त्रीले दिएको हो । जेन–जीको लिडर को हो भन्दा रक्षा बम रे ! अहिले तपाईं प्रधानमन्त्री भन्दा ठूलो हुनुभयो ? फोन गर्दा नउठाउने, म्यासेज रिप्लाइ नगर्ने । तपाईंकै गृहमन्त्री, तपाईंकै साथीहरु सचिवालयमा । अनि यो के को नाटक ?’

एक घाइते युवाले भने, ‘तपाईँ यो आन्दोलनमा आउनु पर्दैन, तपाईँको मुख पनि हेर्ने मन छैन हामीलाई ।’

उनलाई रक्षाले जवाफ दिइन्, ‘सडक तिमीहरूको मात्र होइन । अनुहार हेर्न मन छैन भने आँखामा पट्टी लगाउनु । तिमीहरूले गोली खाएको भएर हामी २४ गते सडकमा निस्किएको हो ।’

अर्की जेन–जी युवतीले भनिन्, ‘कोही युवाहरू आन्दोलनमा ताली बजाएकै कारण जेलमा छन् । तपाईँ सिंहदबार जलाएर ‘वाउ’ भन्दै फोटोसेसन गर्नेलाई जेल हाल्ने कि नहाल्ने ?’

रक्षाले जवाफ दिन सकिनन् । त्यसपछि युवाहरूले ‘रक्षा बम मुर्दावाद’, ‘रक्षा बमको हातमा रगत छ’ भन्दै नाराबाजी सुरू गरे । तनाव बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेरपछि रक्षा त्यहाँबाट हिँडिन् । जाँदाजाँदै उनले अब यो आन्दोलनमा नआउने बताएकी थिइन् ।

रेड च्याप्टर नामक संस्था चलाउने सरिस्माको रक्षासँग पहिलेदेखि चिनजान रहेको बुझिएको छ । पछिल्लो समयमा रक्षाले आफ्नो फोन नउठाएको र म्यासेज रिप्लाइ नगरेको भनेर सरिस्मा उनीसँग चिढिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्