काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीहरू अमेरिकी गुप्तचर संस्था सीआईएको नियन्त्रणमा रहेको र उनीहरूलाई घण्टी चिन्हमा भोट हाल्न दबाब दिइएको दाबी गरेका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यो विषयलाई ‘लाजमर्दो’ बताउँदै भने, ‘विदेशमा जागिर वा अध्ययनका लागि गएका नेपालीहरू-विद्यार्थी र कामदारहरू सबैलाई सीआईएले कब्जामा लिएको छ । उनीहरूले आफ्ना आमा-बाबु तथा अभिभावकलाई फोन गरेर ‘घण्टीमा भोट हाल्नुपर्छ, नत्र म घर आउँदिनँ’ भन्दै दबाब दिइरहेका छन् । यस्तो अवस्था भएको देशमा हामी चिन्तित नहुने कसरी ?’
उनले सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलाउनेहरू ठूलो संख्यामा आएको टिप्पणी गरे । उनले भने, ‘जनताले सधैँ सही निर्णय गर्छन् भन्ने कुरा गलत हो । जनताले सधैँ सही फैसला गर्छन् भन्ने विश्वास अब लागू हुँदैन ।’ केसीले यो अवस्थाको जिम्मेवार कम्युनिस्ट नामधारी शक्तिहरू रहेको बताएका छन् । उनले संसद्मा आफूले यसअघि नै ‘कि तिमीहरू सुध्र, कि सक्किन तयार होऊ’ भनेर चेतावनी दिएको स्मरण गराए ।
नेपालको वर्तमान स्थितिमा सबै राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने उनले बताए । ‘मुलुक त गयो,’ उनले भने, ‘यो सब अमेरिकाले चीनविरुद्ध लड्नका लागि खेलेको खेल हो । यो कांग्रेस, एमाले र माओवादीले गरेको भ्रष्टाचार वा जनताले सुख नपाएर भएको होइन । अमेरिकाले दलाई लामालाई पुनर्स्थापित गर्नकै लागि यो खेल खेलेको हो ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको चर्चा गर्दै उनले अमेरिकाको उदाहरण दिए । ‘प्रत्यक्ष कार्यकारी होइन, ट्रम्प हो । अमेरिका जस्तो लामो प्रजातान्त्रिक इतिहास र संस्कार भएको देशले ट्रम्पजस्तालाई चुन्छ । यसले जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा गलत साबित भएको छ ।’











