Logo
Logo

बिजुलीको बिल मोबाइलबाटै डिजिटल रूपमा तिर्ने प्रणाली सहज बनाउन मन्त्री श्रेष्ठको निर्देशन


189
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रूपमा विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

The current image has no alternative text. The file name is: biraj.jpg

सूचना प्रविधिको युगमा अझै पनि नागरिकहरू बिजुलीको बिल तिर्न विद्युत् कार्यालयमा घण्टौ लाइन बसिरहने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले यसका लागि डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका हुन् । उनले विद्युत् प्राधिकरण सञ्चालक समितिबाट डिजिटल पेमेन्टलाई प्रभावकारी रूपमा विस्तार गर्ने योजना स्वीकृत भएको पनि जानकारी दिए । त्यसलाई तलसम्मै प्रभावकारी कार्यान्वयनका लागि जनजागरण ल्याउनुपर्नेमा जोड दिए ।  

हेटौ‌डामा विद्युत् डिभिजन कार्यालय प्रमुखहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले भने,’ ‘डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्नुपर्यो । किनभन्दा आम नागरिकको समयको पनि बचत हुने, हामीलाई पनि त्यसमा भएको कस्टलाई म्यानेज गर्ने र त्यहाँ भएको जनशक्तिलाई अरू चिजमा सदुपयोग गर्न सक्ने, जनचेतना, ग्राहकको गुनासोलाई सम्बोधन गर्नमा केन्द्रित गर्न सक्ने भएकाले डिभिजन प्रमुखज्यूहरूले डिजिटल पेमेन्टलाई अभियानकै रूपमा अगाडि बढाउन निर्देशन दिन्छु ।’

विद्युतीय भुक्तानीको ग्राफ बढे पनि सन्तोषजनक नरहेको र अझै पनि नागरिक लाइनमा बस्नुपरिरहेको उनको भनाइ थियो । उनले भने, ‘सुरु हुँदा यसको प्रतिशत ह्वात्तै बढ्यो । तर गत वर्ष एक प्रतिशतभन्दा बढेन। यो त गम्भीर विषय हो । सूचना प्रविधिको जमानमा अहिले नागरिकहरू लाइन बसेर पैसा तिर्न आउनुपर्छ भनेपछि प्राधिकरणकै साइडबाट एउटा जनचेतनालाई अझ अभिवृद्धि गर्नुपर्ने देखेको छु ।’

मन्त्री श्रेष्ठले ट्रिपिङ हुँदा ग्राहकलाई समयमा रेस्पोन्स र सूचना प्रवाह गर्न पनि निर्देशन दिए । विद्युत् चुहावट जनताकै नोक्सानी भन्दै चुहावट नियन्त्रणमा विशेष ध्यान दिन पनि निर्देशन दिए । विद्युत् संरचनाको संरक्षण गर्नु दायित्व भन्दै मन्त्री श्रेष्ठले पोल पुननिर्माण मात्र होइन पोलको मर्मतसम्भार तथा गस्ती गर्न पनि डिभिजन प्रमुखहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्