काठमाडौं । जेनजी आन्दोलनले नेतृत्वमा पुस्तान्तरणको नारा खुब घन्कायो । कांग्रेसमा यो नाराले सार्थकता पायो पनि । गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन भयो र त्यही महाधिवेशबाट उनी सभापति चुनिए ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनअघि एउटा भाष्य थियो– सभापति शेरबहादुर देउवाविना कांग्रेस चल्दैन । देउवाको वरिपरि रहेर राजनीतिक लाभ लिनेहरूको भीड लागेको थियो । तर, तत्कालिन महामन्त्री गगन थापा पक्षले अब पुरानाबाट कांग्रेस चल्दैन भन्यो र विशेष महाधिवेशनबाट नेतृत्व खोस्यो । रूपान्तरित कांग्रेस भन्दै थापाकै हस्ताक्षरमा टिकट बाँडियो र कांग्रेस चुनावमा होमियो । तर, कांग्रेसले चुनावमा सोचेजति मत ल्याउन सकेन ।
चुनावमा एक प्रकारको पराजय भयो । गगनले राजीनामा दिए तर, उनको राजीनामा केन्द्रीय समिति बैठकबाट अस्वीकृत भयो । चुनावपछि अर्को सन्दर्भ चर्को रुपमा दखिएको छ । सभापति गगन थापाविना कांग्रेस चल्दैन भनेर राजनीतिक भविष्य सुनिश्चित गर्नेहरूको लाम बढ्दै गयो र राजिनामा पनि अस्वीकृत भयो ।
चुनावमा लज्जाजनक पराजयसँगै पार्टीभित्र बढ्दै गएको विवाद समाधानतर्फ भने कांग्रेसको वर्तमान संस्थापनपक्षले ध्यान दिएको छैन । संस्थापन पक्षचाहि आन्तरिक छलफलमा जुटेको छ । निर्वाचनमा विवधि कारणले पराजय भोगपनि अहिले भने उनीहरु जुट्न र भेटघाट गर्न थालेका छन् । नेताहरुले पूरानो र तत्काल उत्पन्न भएको विवाद कायमै राखेर चुनावमा जाँदा बेहोरेको हारबाट पाठ सिक्नुपर्ने बताइरहेका छन् । जसले कांग्रेसमा आरोप–प्रत्यारोप, आन्तरिक शक्तिसंघर्ष र गुटबन्दी झन् चर्काउँदै लगेको छ ।
निर्वाचनलगत्तै बोलाइएकाले कांग्रेस केन्द्रीय समितिमा पार्टीले भोग्नुपरेको लज्जाजनक हारको गम्भीर छलफल हुने र त्यसअनुसार अबका रणनीति तय हुने अनुमान गरिएको थियो । तर, त्यसो भएन । गगन थापाले केन्द्रीय समितिमा दुवै पक्षलाई समेट्न सकिरहेका छैनन ।
गत पुस अन्तिममा गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष पार्टीबाट बाहिरै घुमिरहेको छ । देउवा सपरिवार सिंगापुरदेखि हङकङसम्म घुमिरहेका छन् । एक प्रकारले भन्ने हो भने उनी राजनीतिक छुटीमा रहेका छन् ।
नेता शेखर कोइराला पक्षले चुनावमा भाग लिए पनि पूर्णतः नेतृत्व स्वीकारिसकेको छैन । उनीहरुले आफ्नो पक्षको भेला गरिरहेका छन् । विवाद कायमै राखेर निर्वाचनमा जाँदा बेहोरेको हारबाट पाठ सिक्दै वर्तमान कार्यसमितिको पहिलो प्राथमिकता आन्तरिक एकतामा हुनुपर्नेमा अहिलेसम्म यो प्रयास गर्न सकेको छैन ।
देउवा पक्षका नेताहरुले काठमाडौका विभिन्न होटलहरुमा आन्तरिक भेला र छलफल गरिरहेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले बहुमतको दम्भ देखाउँदै विशेष महाधिवेशनलाई इन्कार गर्दा आधिकारिकता गुमाउनु परेको पछिल्लो परिस्थितिमा देउवा पक्षका नेताहरु आन्तरिक बैठकमा लागेका छन् । विगतमा देउवाका वरिपरि रहेका शीर्ष नेता, पदाधिकारी र पूर्वपदाधिकारीले जे गरेका थिए, अहिले सभापति थापा वरपर रहेका पदाधिकारी र केन्द्रीय समिति सदस्यले त्यही गरिरहेको अवस्थामा दुवै पक्ष टसमस भएका छैनन ।
विगतमा देउवाविना पार्टी चल्दैन भन्ने भाष्य कांग्रेसमा बनाइएको थियो, जसलाई थापा नेतृत्वको समूहले अस्वीकार मात्रै गरेको थिएन, विशेष महाधिवेशनमार्फत देउवालाई विस्थापन गरेको थियो । तर, अहिले सभापतिको थापाको नेतृत्वमा निर्वाचन जाँदा जनादेशले अस्वीकृत गर्दासमेत गगन थापाविना कांग्रेस चल्दैन भन्ने भाष्य बनाइएको नेताहरुको भनाइ छ, जसले गर्दा गगन थापालाई नै नैतिक संकटतर्फ धकेलिरहेको छ ।
गगन थापा र अहिलेको कार्यसमितिलाई तत्काल नियमित महाधिवेशन गरेर कांग्रेस एक बनाउने अवसर छ । तर, त्यतातर्फ भने ध्यान दिएको देखिँदैन । विशेष महाधिवेशनले तल्लो तहसम्मै विभाजित कार्यकर्तामा एक भएको सन्देश दिन कांग्रेस चुकिरहेको छ । बरू निर्वाचनमा नलडेका र टिकट नपाएकाहरुले असहयोग गर्दा पराजित हुनुपरेको विश्लेषण नेताहरू गरिरहेका छन् । तर, अर्काथरि भने थापा नेतृत्वमा चुनावमा जाँदा कम्तीमा दोस्रो भएको, देउवाको नेतृत्वमा निर्वाचनमा गएको भए एमालेभन्दा पनि खत्तम हुने विश्लेषण गरिरहेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वाच्च अदालततको फैसला पर्खिरहेको छ । अहिले समूहको बैठक बोलाउनेदेखि अन्य समानान्तर गतिविधि गर्नेसम्मका विकल्पमा नेताहरूले छलफल गरिरहेका छन् । देउवा विदेशबाट फर्किएपछि गतिविधिले झन् तीब्रता पाउने नेताहरूको भनाइ छ । चुनावको मुखमा मौन बसेको यो पक्ष अब खुल्न थालेको छ । यता गगन थापाले रुपान्तरित र पुस्तान्तरणसहितको कांग्रेस भनेर आफ्नो समूहलाई बाहिर जान दिइरहेका छन् ।











