गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई शपथ ग्रहण गराए ।
सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित शपथग्रहण कार्यक्रम केवल एउटा औपचारिक संवैधानिक प्रक्रिया मात्र रहेन, यो नेपालको बदलिँदो राजनीतिक परिदृश्य, शक्ति सन्तुलनको नयाँ संकेत र सार्वजनिक छविको एउटा रंगमञ्च जस्तो देखियो ।
संसद्को पहिलो दिनमै सबैभन्दा रोचक दृश्यमध्ये एक थियो– कुनै समय संसद्को मुख्य शक्ति मानिने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एउटै लहरमा बस्न बाध्य भएको अवस्था । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा बसाइँ मिलाउँदा यी तीन दलका सांसदहरू एउटै बेञ्चमा देखिए । विगतमा सांसद् र सरकार अर्थात् सत्तापक्ष र प्रतिपक्ष दुवैको मुख्य दलको भूमिकामा देखिने दल आज एउटै पंक्तिमा देखिनु केवल व्यवस्थापनको कुरा मात्र थिएन, त्यो बदलिएको जनादेशको प्रत्यक्ष दृश्य पनि थियो ।
शपथ ग्रहणअघि संसद् भवनको मूल प्रवेशद्वारमै देखिएको अर्को दृश्य पनि कम अर्थपूर्ण थिएन । केही सांसदहरूले संसद् भवनको मूल ढोकामा ढोग गरेर, कतिपयले जुत्ता खोलेर शपथमा सहभागी भएका थिए । यसले लोकतन्त्रको सर्वोच्च थलो मानिने संसद् भवनलाई केही सांसदहरूले केवल कार्यालय वा औपचारिक स्थलका रूपमा नभई, एक पवित्र जिम्मेवारीको स्थलका रूपमा लिएको झल्को दिएको छ । नेपाली मौलिक भेषभूषामा सजिएका उनीहरु पहिलोपटक संसद् भवन प्रवेश गर्नेहरूका लागि त्यो क्षण केवल भवनभित्र पस्ने औपचारिकता मात्र थिएन, राज्यको मूल शक्ति संरचनामा आफ्नो उपस्थिति जनाउने भावनात्मक क्षण पनि थियो ।
शपथ ग्रहण कार्यक्रममा पहिरन र प्रतीकले पनि उत्तिकै ध्यान खिच्यो । रास्वपाका वरिष्ठ नेता बालेन शाह किराँत समुदायमा शुभ संकेत मानिने ‘सिलाम साक्मा’ लगाएर शपथ कार्यक्रममा सहभागी भए ।
उनले लगाएको ‘सिलाम साक्मा’ केवल फेसन थिएन, त्यो त राज्यको मूल थलोमा सांस्कृतिक पहिचानको एउटा बलियो दाबी थियो । बालेनको यो पहिरन केवल शैली वा आकर्षणका लागि मात्र थिएन, यसले राज्यको औपचारिक थलोमा सांस्कृतिक पहिचानको उपस्थिति र दाबीलाई पनि बलियो रूपमा प्रस्तुत ग¥यो ।
सम्भवत बालेनलाई हर्क साम्पाङले सम्भवत पहिलोपटक ‘सिलाम साक्मा’ लगाइदिएका थिए । २०७९ चैत २१ मा यी दुई नेताबीच पहिलो भेट भएको थियो । सोही भेटमा साम्पाङले शाहलाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए । तर, पछिल्लो समय दुईको सम्बन्धमा उतारचढाव देखिँदै आएको छ । शुक्रबार शीतल निवासमा प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेनको आजको उपस्थिति स्वाभाविक रूपमा सबैको चासोको विषय बन्यो । संसद् भवनभित्र उनको उपस्थितिले नयाँ शक्तिको आत्मविश्वास, सांस्कृतिक पहिचान र नयाँ राजनीतिक संकेत तीनवटै कुरा एकैसाथ बोकेको देखिन्थ्यो ।
प्रचण्ड र बादल एउटै बेन्चमा
प्रतिपक्षी लहरको सबैभन्दा अगाडिको सिटमा नेकपा संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सँगसँगै बसेको दृश्य पनि निकै रोचक रह्यो । यी दुई पात्र नेपाली सशस्त्र संघर्ष, शान्ति प्रक्रिया र कम्युनिस्ट राजनीतिका पुराना सहयात्री हुन् । कुनै समय सत्ता र परिवर्तनको मूल केन्द्रमा रहेका यी दुई नेता आज फेरि एउटै पंक्तिमा राष्ट्रिय पोशाकमा देखिनु राजनीतिक इतिहासकै एउटा रोचक फ्रेमजस्तो लाग्थ्यो । विगतमा राज्य हल्लाउने हैसियतमा रहेका नेताहरू आज नयाँ जनादेशको कारण सीमित दायराभित्र बस्न बाध्य देखिनु आफैंमा समयले दिएको कठोर सन्देश पनि हो ।
तेस्रो ‘रो’मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ सँगसँगै देखिनु पनि उत्तिकै चासोको विषय बन्यो । त्यस्तै रास्वपाको पंक्तिमा देखिएको दृश्य पनि निकै अर्थपूर्ण थियो । सबैभन्दा अगाडि सभापति रवि लामिछाने र त्यसपछि बालेन शाह बसेका थिए । उनीहरूसँगै उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पनि देखिए । रवि लामिछाने र बालेन संसद् भवनमा प्रवेश गर्दा रास्वपाका सांसदहरूले उठेर सम्मान प्रकट गरेको दृश्यले पार्टीभित्र नेतृत्वको प्रभाव र अनुशासन दुवैलाई एकैसाथ उजागर ग¥यो ।
तर, उक्त क्षणकै सबैभन्दा चर्चित दृश्य भने रास्वपा सांसद रहबर अन्सारीको देखियो । अधिकांश सांसदहरू राष्ट्रिय पोशाक, औपचारिक पहिरन वा सांस्कृतिक भेषभूषामा संसद् भवन पुगेका बेला अन्सारी भने निलो सर्ट, पाइन्ट र पिठ्यूँमा ब्याग भिरेर स्कुल ड्रेसजस्तै पोशाकमा देखिए । उनी संसद् भवनभित्र छिर्नासाथ सञ्चारकर्मीले घेरेका थिए । सांसद भएर शपथ खान आएको व्यक्तिले विद्यार्थीको भेषमा संसद् प्रवेश गर्नु आफैंमा दृश्य–राजनीतिक प्रदर्शन थियो । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले ३५ वर्षअघि बुवाले विद्यालय पु¥याएको भावुक क्षण सम्झिएको बताए ।
सांसद् अन्सारीको प्रतिक्रिया भावनात्मक भएपनि त्यसभित्र सार्वजनिक छवि निर्माणको स्पष्ट रणनीति पनि लुकेको थियो । उनी स्वभावतः ध्यान तान्ने शैलीका नेताका रूपमा चिनिन्छन् । यसअघि मधेश प्रदेशसभाका सदस्य रहँदा पनि अन्सारी आफ्नै मुखमा कालो मोसो दलेर रोष्ट्रममा पुगेका थिए । आजको, राजनीतिमा जो फरक देखिन्छ, ऊ नै बढी चर्चामा आउँछ, र अन्सारीले त्यो सूत्र पहिलो दिनमै प्रयोग गरे ।
प्रश्नबाट भाग्ने ‘माननीय’ दम्भ
दृश्यहरू सुखद मात्रै रहेनन् । पहिलो दिनमै केही सांसदको दम्भ पनि देखियो । सार्वजनिक पदमा रहेका व्यक्तिलाई सार्वजनिक स्थानमा प्रश्न सोध्दा रास्वपाका शिशिर खनालले “प्रश्न सोध्न अनुमति चाहिन्छ“ भन्दै प्रतिक्रिया दिए । जुन शोभनिय थिएन ।
यस दृष्यले उनको राजनीतिक अपरिपक्वता र दम्भलाई शपथको पहिलो दिनमै उदाङ्गो पारिदियो । पारदर्शिताको नारा लगाउने नयाँ शक्तिबाटै सार्वजनिक प्रश्नमाथि ’सेन्सरसिप’ लगाउन खोज्नु विरोधाभासपूर्ण देखियो ।
शपथलगत्तै प्रत्येक सांसदलाई संघीय संसद् सचिवालयले एउटा झोला पनि उपलब्ध गराएको थियो । त्यस झोलाभित्र संविधान, प्रतिनिधिसभा नियमावली र संयुक्त बैठक सञ्चालन नियमावली राखिएको थियो । झोला बाहिरबाट सामान्य लागे पनि यसको अर्थ गहिरो छ, अब यी प्रतिनिधिहरूले काँधमा केवल झोला होइन, संविधानको जिम्मेवारी पनि बोकेका छन् । तर नेपाली राजनीतिले पटक–पटक देखाएको विडम्बना यही हो कि संविधान बोकेर हिँड्नु र संविधानअनुसार चल्नु सधैं एउटै कुरा हुँदैन ।
शपथ ग्रहणका क्रममा धेरै सांसदहरूले राष्ट्रिय पोशाक लगाएका थिए भने केहीले जातीय र सांस्कृतिक पहिरन लगाएर संसद्को माहोललाई झनै बहुरंगी बनाएका थिए । यसले संसद् भवनलाई औपचारिकताभन्दा बढी विविध पहिचानको साझा मञ्चजस्तो बनाएको देखिन्थ्यो । तर प्रश्न अझै बाँकी छ– आज पहिरनमा देखिएको यो विविधता भोलि नीति निर्माणमा पनि यो कुरा देखिनेछ कि देखिनेछैन ? त्यो कुरा त हेर्न बाँकी नै छ ।
संसद्को यो प्रारम्भिक तस्बिरमा एकातिर स्थापित पुराना शक्तिहरूको रक्षात्मक संकुचन देखिन्थ्यो भने अर्कोतिर नयाँ दलहरूको उदियमान आत्मविश्वास प्रस्टै झल्किन्थ्यो । हलभित्र सांस्कृतिक पहिचानको गौरव, शक्ति सन्तुलनको सूक्ष्म दाउपेच र नेतृत्वप्रतिको मिश्रित भावहरू एकैसाथ तरङ्गित भइरहेका थिए । तथापि, यी तमाम संकेतहरूका बीचमा सबैभन्दा टड्कारो संशय भने यही हो– आज जति सहजताका साथ शपथका शब्दहरू उच्चारण गरिए, के भोलिका दिनमा त्यत्तिकै निष्ठाका साथ ती शब्दहरूको मर्यादा र गरिमाको रक्षा गरिएला ? त्यो भने आउँदो दिनको व्यवाहारले देखाउनेछ ।











