Logo
Logo

प्रधानमन्त्रीको शपथ लिँदा पनि बालेनले छुटाएनन् ‘सिलाम साक्मा’


756
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पनि किराती सभ्यताको प्रतीक ‘सिलाम साक्मा’लाई निरन्तरता दिएका छन् ।

यसअघि बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका क्रममा उनले लगाएको सिलाम साक्माले सार्वजनिक र राजनीतिक वृत्तमा उल्लेख्य चर्चा बटुलेको थियो । शुक्रबार शीतलनिवासमा प्रधानमन्त्रीका रूपमा शपथ लिँदा पनि बालेनले त्यही सांस्कृतिक प्रतीकलाई मञ्चमा राखेका छन् ।

सिलाम साक्मासँग बालेनको सार्वजनिक सम्बन्धको कथा पनि आफैंमा सांकेतिक र रोचक छ । २०७९ चैत १५ गते, स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्क साम्पाङले काठमाडौंमा बालेनलाई पहिलोपटक भेट्दा आफ्नै हातले उनलाई सिलाम साक्मा लगाइदिएका थिए ।

त्यतिबेला त्यो दृश्य केवल दुई लोकप्रिय स्थानीय नेताबीचको भेट मात्र थिएन । वैकल्पिक राजनीति, स्थापित संरचनाप्रतिको असन्तोष र जनभावनाबाट उदाएका दुई पृथक् भूगोलका आवाजबीचको आत्मीय सम्बन्धको दृश्यात्मक अभिव्यक्ति थियो ।

बालेन निकट स्रोतका अनुसार, उनले पहिलोपटक सिलाम साक्मा हर्ककै हातबाट धारण गरेका थिए । त्यो क्षण व्यक्तिगत स्नेहको आदानप्रदानभन्दा पनि धेरै अर्थ बोकेको थियो । यसलाई परम्परागत राजनीतिक ढाँचाविरुद्ध उभिएका दुई जनआकांक्षाबीचको सांकेतिक एकता का रूपमा पनि पढ्न सकिन्छ ।

तर राजनीति सधैं आत्मीयतामै अडिँदैन । समयसँगै बालेन र हर्कबीचको निकटता क्रमशः कमजोर बन्दै गयो । पछिल्ला महिनाहरूमा उनीहरूबीच सामाजिक सञ्जालमार्फत घोचपेच, व्यंग्य र वैचारिक दूरीका संकेतहरू समेत देखिन थाले ।

संयोगवश, अहिले यी दुवै पात्र संघीय राजनीतिमा फरक राजनीतिक छानामुनि उभिएका छन् । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संसद्मा प्रवेश गर्दै प्रधानमन्त्रीको कुर्सीसम्म पुगेका छन् भने हर्क अहिले प्रतिपक्षीमा छन् ।

यही कारणले उनीहरूबीचको सम्बन्ध झन् रोचक बनेको छ । एक समय एउटै असन्तोष, एउटै वैकल्पिक भावनाशीलता र एउटै जनउत्साहका प्रतीकजस्ता देखिएका यी दुई पात्र अहिले फरक राजनीतिक यात्राका प्रतिनिधि बनेका छन् ।

तर यी सबै राजनीतिक उतारचढावभन्दा माथि उभिएर सिलाम साक्मा आफैंमा एउटा गहिरो सांस्कृतिक अर्थ बोकेको प्रतीक हो ।

किराती समुदाय, विशेषतः लिम्बू सांस्कृतिक विश्वासअनुसार, ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ को अर्थ बाटो भन्ने मान्यता छ । त्यसैले सिलाम साक्मा धारण गर्दा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ ।

यसलाई केवल धार्मिक वा परम्परागत सामग्रीका रूपमा मात्र बुझिँदैन, यसले रक्षा, शुभता, आध्यात्मिक शक्ति र सांस्कृतिक अस्तित्वको बोध गराउँछ । धेरैका लागि यो एक प्रकारको रक्षा कवच हो भने, अरूका लागि आफ्नै जरा, वंश र पहिचानसँगको जीवित सम्बन्ध ।

यही कारणले प्रधानमन्त्रीको शपथजस्तो अत्यन्त औपचारिक, संवैधानिक र राष्ट्रिय महत्त्वको क्षणमा बालेनले सिलाम साक्मा धारण गर्नु केवल व्यक्तिगत रोजाइमा सीमित देखिँदैन । यो राज्यसत्ताको केन्द्रमै सांस्कृतिक विविधताको दृश्य उपस्थितिलाई वैधानिक र राजनीतिक अर्थ दिने संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्