
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।’
जेनजी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ सचिव बस्नेतले लेखेका छन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा निरिह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ,’ उनले लेखेका छन् ।











