Logo
Logo

पार्टी एकता भएपनि नेकपामा फरक फरक लेबी, सांसद र मन्त्रीले कति तिर्छन् ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, माघ २० गते ।

पार्टी एकता भएको एक वर्ष हुन लाग्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले फरक फरक लेबी तिर्दै आएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले फरक फरक खातामा लेबी बुझाउँदै आएका छन् ।


पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताए । उनी भन्छन् “नेकपाको संसदीय दलबाट एउटा संयुक्त खाता माग भएको छ, । खाता पठाउने वित्तिकै दलका सम्पूर्ण सांसदको लेवी एउटै खातामा जान्छ ।”
पार्टीका शीर्ष नेतासँग पनि यस विषयमा छलफल भइरहेको बताउँदै गुरुङ्ले एकीकृत पार्टीको खाता चाँडै आउने कुरामा आफू विश्वस्त रहेको बताए । पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु. १३ हजार र मन्त्रीले रु. १५ हजार लेबी बुझाउँदै आएका छन् । त्यस्तै, पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदले मासिक रु. १२ हजार र मन्त्रीले रु.१५ हजार बुझाउने गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिए । एउटै खातामा जान थालेपछि लेबीमा पनि एकरूपता हुने सचेतक गुरुङले बताए सांसद तथा मन्त्रीको लेबी संसद् सचिवालयको लेखाबाट नै काटिन्छ ।
सचेतक गुरुङका अनुसार सांसदले पाउने मासिक तलब र अन्य सुविधा दिँदा संसद् सचिवालयको लेखा शाखाले लेबी काटेर दिने गरेको छ । त्यो लेबी पार्टीको खातामा जम्मा गर्ने गरिएको छ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि पार्टीले सांसदहरूको नामावली पठाएर तोकेको रकम अनुसार लेबी काट्न आग्रह गरेपछि लेखाले सोही अनुसार कटाएर दिने गरेको छ । नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले लेबी एउटै खाता बनाउने प्रक्रिया शुरु भएको तर सङ्गठनको तल्लो तहसम्म एकीकरण टुङ्गो नलागेका कारण ढिलाइ भएको बताए । “हाललाई छुट्टा छुट्टै खाताबाट कारोबार भइरहेको छ,’’ उनले भने संयुक्त खाता चाँडै नै खुल्छ ।”
पार्टीको तर्फबाट प्रधानमन्त्री, मन्त्री, सांसद, केन्द्रीय तहको राजनीतिक नियुक्ति, मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, प्रदेश तहको राजनीतिक नियुक्ति, विभिन्न तहका जनप्रतिनिधि र हरेक राजनीतिक नियुक्ति लिएका व्यक्तिले लेबी बुझाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ ।
पूर्वएमालेतर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १४८ सांसद छन् भने पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ६६ जना सांसद छन् । एकीकरणपछि नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कुल २१४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्