सानैदेखि बुबाले ब्याडमिन्टन खेलको देख्दा उनलाई निकै रमाइलो लाग्थो । त्यही रहरले गर्दा नौ वर्षको उमेरमा उनी पनि ब्याडमिन्टनमा जोडिइन् । कुनै समय रहर बनेको ब्याडमिन्टन आज उनको जीवन बनेको छ । अहिले उनको दिनचर्या ब्याडमिन्टन खेलेरै बित्छ । १०० भन्दा बढी राष्ट्रिय गेम र तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय गेम खेलिसकेकी उनले दजर्नौ मेडल प्राप्त गरिसकेकी छिन् ।

ब्याडमिन्टनलाई ‘ग्लामरस’ खेलको रुपमा समेत लिइन्छ । तर, उनी खेलको रुपमा मात्रै आफूले हेरेको बताउँछिन् । उनी पाकिस्तानमा हुन गइरहेको ‘साउथ एसियन जुनियर च्याम्पियनशीप’को तयारीमा छिन् । उनै २१ वर्षीया ब्याडमिन्टन खेलाडी रशिला महर्जनसँग रेजिना पाण्डेको जम्काभेट ।
ब्याडमिन्टन खेल्नको पाकिस्तान जाँदै हुनुहुन्छ, कत्तिको एक्साइटेड हुनुहुन्छ ?
यही चैत १८ देखि २४ गतेसम्म पाकिस्तानको इस्लामावादमा साउथ एसियन जुनियर च्याम्पियनशीप हुँदैछ । नेपालसहित साउथ एसियाका देशहरूबाट अन्डर २३, अन्डर १९ अन्डर १६, खेलाडीहरू सहभागी हुँदैछन् । म अन्डर २३ मा पर्छु । म यही साता पाकिस्तान जाँदैछु । यो गेमलाई लिएर निकै एक्साइटेड छु ।
नेपालबाट कति जना सहभागी हुँदैछन ?
नेपालबाट १२ जना सहभागी हुँदैछौँ । मेडल जित्ने गरी टे«निङ भइरहेको छ ।
यो प्रतिष्पर्धामा तपाईंको अपेक्षा के छ ?
खेलमा प्रतिस्पर्धा त भइनै हाल्छ । चुनौती धेरै नै छन् । मेरो काँधमा राष्ट्रको जिम्मेवारी थपिएको महसुस गरेकी छु । गत वर्ष भुटानमा भएको प्रतियोगितामा हामीले चारवटा मेडल ल्याएका थियौँ । यसपालि पनि मेडल ल्याउने लक्ष्य छ ।
तपाईंले हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय गेम कतिवटा खेल्नुभयो ?
मैले १००भन्दा बढी राष्ट्रिय गेम खेलिसकेँ । अन्तर्राष्ट्रिय गेम पनि तीन दर्जनजति भइसक्यो । जसमा अमेरिका, चीन, श्रीलका, इन्डोनेशिया, क्यानडा, युएई, बंगलादेश, अष्ट्रेलियाजस्ता देशमा गएर खेलेकी छु ।
खेलका तितामिठा अनुभव के छन् ?
अनुभव त धेरै नै छन् । खेलमा सहभागी भएपछि जित्छु भन्ने लाग्छ नै । तर, कहिलेकाही निराशाजनक पनि भइदिन्छ । कहिले एक पोइन्टले पनि पोजिसन तलमाथि भइदिन्छ । त्यस्तो अवस्थामा दुःख लाग्छ ।
अहिलेसम्म तपाईंले खेलेको गेममध्ये उत्कृष्ट कुन हो ?
सन् २०१९ मा पोखरामा भएको खेलमा बंगलादेशसँग खेलेर मेडल पाएको थिएँ । त्यो खेल उत्कृष्ट थियो । उक्त गेममा निकै कडा प्रतिष्पर्धा पनि भएको थियो ।
पहिलो गेम खेल्दाको अनुभव बताउनुस न ?
मैले अन्डर १७ को पहिलो गेम खेलेको थिएँ । त्यति बेला म १४ वर्षको थिएँ । मेडल पनि पाएको थिएँ । त्यो क्षण निकै रमाइलो भएको थियो । त्यही उत्साह बोकेर आजसम्म ब्याडमिन्टनकै यात्रामा छु ।
ब्याडमिन्टन खेलमा तपाईंको आकर्षण कसरी भयो ?
म सानै छदा बाबा सधैँ ब्याडमिन्टन खेल्नुहुन्थ्यो । बाबाले खेलेको देखेर मलाई पनि खेल्न मन लाग्थ्यो । अनि म पनि खेल्न थालेँ, ट्रेनिङहरू पनि लिएँ । यसरी अगाडि बढ्दै जाँदा आजको स्थानमा आइपुगेकी छु ।
नेपालमा ब्याडमिन्टन खेल र खेलाडीको अवस्था कस्तो छ ?
खेलको अवस्था राम्रो छ तर, खेलाडीको अवस्था भने नाजुक नै छ । खेलाडीले धेरै कुरा आफ्नै खर्चमा जुटाउनुपर्ने हुन्छ । अहिलेसम्म राज्यले खेलाडीलाई हेरेन । खेलाडीको लागि राज्यले केही गरिदिए हुन्थ्यो भन्ने लाग्छ । राज्यले खेलाडीमा लगानी गर्ने हो भने खेलाडीहरुको क्षमता पनि अभिवृद्धि हुन्थ्यो ।
ब्याडमिन्टनबाट तपाईंले के पाउनुभयो र राज्यलाई के दिनुभयो ?
मैले ब्याडमिन्टनबाट सम्मान पाएको छु । मैलै केही हदसम्म भए पनि आफ्नो देश नेपाललाई विश्वमा चिनाउन पाएको छु । यसमा मलाई गर्व लाग्छ ।
ब्याडमिन्टनलाई ‘ग्लामरस’ गेम पनि भन्छन् नि ?
धैरैले भन्नुहुन्छ, तर मैले यसलाई गेम कै रुपमा मात्र हेरेको छु ।
कहिलेकाहीँ गेम खेल्दा रिस उठेर ब्याडले कसैलाई हिर्काउनुभएको छ ?
हिर्काएको चाहिँ छैन । तर, धेरै चोटी भुइँमा बजारेको चाहिँ छु ।
ब्याडमिन्टन खेल्नुबाहेक अरू के गर्नुहुन्छ ?
म पढ्दै पनि छु । साथसाथै, एउटा निजी विद्यालयमा तीन वर्षदेखि ब्याडमिन्टन प्रशिक्षकको रुपमा पनि कार्यरत छु ।
भविष्यको योजना के छ ?
गेम त छँदैछ । ब्याचलर पास गरेपछि मास्टर्स पढ्न कुनै राम्रो देश जाने योजना छ ।











