Logo
Logo

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध आजपनि सुनुवाइ हुँदै


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आजपनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

यही चैत १० गतेदेखि सुनुवाइ सुरु भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखिँदै आएको छ । यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको थियो ।

गत फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले नियमित सुनुवाईका लागि पेश गर्न आदेश दिएको यो रिट चैत १ गतेदेखि पटकपटक हेर्दाहेर्दैमा पर्दै आएको छ । तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।

आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्ने लामिछानेको निवेदन र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ लाई टेक्दै महान्यायाधिवक्ताले उक्त निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । अहिले सो मुद्दामा सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्