काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन निर्देशन दिइएको बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकायसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसको ६० दिन जेठ १० गते पुग्ने भएकाले त्यो समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको छ ।











