काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मन्त्रीहरूलाई एक्लाएक्लै बोलाएर काम गर्दा देखिएका अप्ठेरा र मन्त्रालयगत अवस्थाबारे जानकारी लिएका हुन् ।

एक मन्त्रीका अनुसार, प्रधानमन्त्रीले कामका क्रममा कुनै समस्या परे सिधै आफूलाई जानकारी गराउन भनेका छन् । साथै, उनले मन्त्रीहरूलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन पनि दिएका छन् ।
प्रधानमन्त्रीले सय दिनभित्रै परिणाम देखिने गरी काम गर्नुपर्ने भएकाले कुनै अलमल नगरी तीव्र रूपमा काम अघि बढाउन मन्त्रीहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री बालेनसँगै १५ जना मन्त्रीहरूले शपथ लिएका थिए । सोही दिन उनीहरूले पदबहाली पनि गरेका थिए ।
त्यसै दिन प्रधानमन्त्री बालेनले सचिवहरूलाई पनि मन्त्रीहरूलाई पूर्ण रूपमा सहयोग गर्न निर्देशन दिएका थिए ।











