Logo
Logo

देउवा पक्षले छुट्टै भेला बोलाएपछि कांग्रेस अनुशासन समितिको बैठक आह्वान


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै अनुशासन समितिको जरुरी बैठक बोलाइएको जानकारी दिएका हुन् ।

उक्त बैठक पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्नेछ । पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि अनुशासन समितिको बैठक आह्वान गरिएको हो । तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार देउवा समूहको बैठक बोलाएका छन् ।

बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । देउवा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाट बैठकमा उपस्थित हुन भनिएको छ ।

तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक र अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ ।

ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग–अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए । संस्थापन पक्षले गत २३ र २४ भदौका दुवै घटनाका दोषीउपर विधि र पक्रियासम्मत तरीकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ । यस्तै, देउवा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रतिशोध भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्