काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालय पुगेर प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै प्रहरी संगठनलाई थप शक्तिशाली र व्यावसायिक बनाउने प्रतिबद्धता जनाएका छन् । सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) लाई दज्र्यानी चिह्न प्रधानमन्त्रीबाटै लगाउने व्यवस्था गर्न आफूले पहल गर्ने बताएका छन् ।

उनले भने, ‘विगतमा गृहसचिवले लगाउँदै आए पनि अब प्रधानमन्त्रीबाट नै चिह्न लगाउने परम्परा बसालिनेछ ।’गृहमन्त्री गुरुङले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको दुःख र कम स्रोतसाधनको अवस्थालाई नजिकबाट देखेको उल्लेख गर्दै उनीहरूको सेवा-सुविधा वृद्धि गर्ने, पोषणयुक्त खाना उपलब्ध गराउने र दङ्गा नियन्त्रणमा पूर्ण गियरबिना फिल्डमा नखटाउने बताए ।
उनले सरुवा-बढुवा कार्यसम्पादन मूल्याङ्कनको आधारमा मात्र गर्ने, राजनीतिक दबाब पूर्ण रूपमा अन्त्य गर्ने र प्रहरीमाथि कुनै पनि निकायबाट हेपाहा व्यवहार नहुने बताए ।
साथै उनले प्रहरीले प्रयोग गर्ने पोसाक नेपालमै उत्पादन गर्न ग्रामीण क्षेत्रमा उद्योग खोल्ने बताएका छन् । प्रहरीलाई नागरिकप्रति शिष्ट व्यवहार गर्न र सवारी साधनलाई एम्बुलेन्सको रूपमा समेत प्रयोग गर्न निर्देशन दिँदै गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याब, एआई सेल र संग्रहालयको समेत निरीक्षण गरेका थिए ।











