Logo
Logo

मधेशमा अझै तस्करी


1.5k
Shares

काठमाडौं । मधेश प्रदेशमा तस्करीका कारण नेपाल प्रहरी बद्नामा हुँदैछ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कमाण्ड सम्हालेपछि मधेश प्रदेशमा उनीनिकट डिआइजी गोविन्द थपिलयाका कारण बद्नाम हुन थालेको स्रोतले बताएको छ । नेकपा एमाले र एमालेका नेताहरूसँग निकट रहेका थपलियाले राखेका घुमुवाले सीमा चौकीमा पुगेर तस्करीका नाका खोल्न दिने गरेको, नदिएमा चौकी इन्चार्जलाई सरुवा गर्ने गरेको आरोप छ । साथै सशस्त्र प्रहरीलाई समेत सेटिङ गर्न खटिएका घुमुवाले प्रहरीलाई बद्नाम गरिरहेका छन् ।

मधेश प्रहरी कार्यालय स्रोतका अनुसार डिआइजी थपलियानिकट मानिएका बरिष्ठ सई गोपाल थापा मगरले आठ जिल्लामा असुली नेटवर्क खडा गरेको त्यहीमार्फत असुली गरेको भन्दै प्रहरी प्रधानकार्यालयस्थित महानीरिक्षकको सचिवालयमा उजुरीसमेत परेको छ ।

तर त्यो उजुरीमाथि कुनै छानबिन हुन सकेको छैन । उजुरी छानबिनमा रहेका एसएसपी प्रज्वल महर्जन सोझो र इमानदार भएका कारण कुनै कारवाही चाल्न सकेका छैनन भने आइजीपी कार्की पनि मौन रहेको स्रोतको दावी छ ।

स्रोतका अनुसार वरिष्ठ सइ थापा मगरले धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी जिल्लामा सादा पोशाकका प्रहरी परिचालन गरेर तस्कर, व्यापारी तथा अवैध कारोबार गर्ने व्यक्तिहरूसँग मासिक रकम असुल्ने संरचना बनाइएको छन् ।

जेनजी सरकार भएको बेला पनि यसरी असुली धन्दामा लागेपछि प्रहरी प्रधानकार्यालय मौन रहनु आश्चर्यको विषय भएको मधेश प्रहरी कार्यालयका एक सिनियर अधिकृतले दृष्टिलाई बताएका छन् ।

जनकपुरदेखि वीरगंजसम्मका सीमावर्ती नाकाबाट तस्करी प्रहरीको सेटिङमा निर्बाध रूपमा भइरहेको र त्यसको ‘कमाण्ड’ थापा मगरले सम्हालिरहेक स्रोतको दाबी छ । बोर्डर वा आकर्षक स्थानमा खटिएका युनिट कमान्डरले थापा मगरलाइ रकम नबुझाए सरुवा र विभागीय कारबाही समेत गराउने डर त्रास फैलाएका छन । जिल्लामा खटिएका सादा पोशाकका प्रहरीले ‘दररेट’ अनुसार रकम बुझाउनुपर्ने बरिष्ठ सइ थापा मगरले व्यवस्था बनाइएको छ । रकम नबुझाउने प्रहरीलाई अन्यत्र सरुवा गराइने, गणमा थन्क्याइने वा विभागीय कारबाहीको डर देखाइने गरिएको आरोप छ ।

रकम बुझाउने प्रहरीलाई भने पुनः जिल्लामै राख्ने, नमिल्नेलाई प्रदेश तानेर फेरि फरक जिल्लामा रमाना दिने अभ्यास चलिरहेको बताइन्छ । यसले जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रदेश नेतृत्वबीच नै दूरी बढाएको स्रोतले जनाएको छ । मधेश प्रदेश प्रहरी संगठनभित्र पछिल्लो समय देखिएको विवाद केवल व्यक्तिगत आरोपमा सीमित छैन । यसले घुमुवा प्रणाली, सिभिल परिचालन, अधिकारको असन्तुलित प्रयोग र आन्तरिक मनोबलमा गहिरो असर पारेको संकेत गर्दछ ।

यतिबेला सर्लाही संग जोडिएको सिमावर्ती भारतको सोनवर्सा र धनुषा संग जोडिएको जयनगरमा भारतीय एसएसबीका जवानले विभिन्न फागुनको अन्तिम सातामै करिब १० टन भन्दा बढी तस्करीको चाइनिज स्याउ नियन्त्रणमा लिएपछि बरिस्ठ सइ थापा मगरको सेटिङ छताछुल्ल भएको छ । जनकपुरका ठूला मदिरा कारोबारीलाई समेत छुट दिने गरेको स्रोतको दावी छ । मधेश प्रदेश प्रहरी कार्यालयभित्र डीआईजी थपलियाले सई थापा मगरलाई असामान्य अधिकार दिएको पनि स्रोतले जनाएको छ ।

घुमुवाको रुपमा कार्यरत प्रहरी कर्मचारीले ‘डीआईजी’को रुपमा आदेश दिने गरेको पनि स्रोतले जानएको छ । यसअघि पनि विवादमा मुछिएका मगरलाई एकपछि अर्को विवादमा मुछिएको समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पुस १८ गते तानेको थियो । तर डिआइजीले विशेष अनुरोधका साथ लगेका कारण उन सर्वाधिक शक्तिशाली भएर हिडिरहेको स्रोतले जनायो ।

प्रहरी संगठनभित्र ‘विवादित कर्मचारीलाई किन पुनः संवेदनशील क्षेत्रमा जिम्मेवारी दिइयो ?’ भन्ने प्रश्न उठिरहेको छ । मधेश प्रदेश प्रहरीमा देखिएको यो विवाद व्यक्तिगत आरोपभन्दा पनि प्रणालीगत कमजोरीको संकेत हो ।

घुमुवा प्रणाली, सिभिल परिचालन र अधिकार वितरणमा पारदर्शिता नहुँदा संगठनको मनोबल र सार्वजनिक विश्वासमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । गम्भीर आरोपमाथि निष्पक्ष, पारदर्शी र समयमै छानबिन कहिले हुन्छ ? दोषी देखिए कडा कारबाही र संरचनागत सुधार नगरे मधेश प्रहरीको प्रतिष्ठामाथि लागेको दाग अझै गहिरिँदै जाने खतरा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्