
काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पूर्वमन्त्री गुप्ताका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएर आजको सुनुवाइ स्थगित गरेका हुन् ।
विशेष अदालतले लिची बगान घुस प्रकरणमा मुछिएका गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उनी सर्वोच्च अदालतमा पुगेका हुन् । गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा लगाउमा राखेर सुनुवाइ हुँदैछ ।
श्रेष्ठ र अधिकारीलाई विशेष अदालतले जनही पाँच लाख धरौटीमा छाड्ने आदेश दिएपछि सो आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेरितको आदेश बदरको माग गर्दै सर्वोच्च पुगेको थियो ।











