
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कार्यालय समयमा अन्यत्र काम नगर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिएको छ । अस्पतालले सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे निर्देशन जारी गर्दै कार्यालय समयमा बाहिर नजान भनेको हो ।
बिहान ९ देखि बेलुका ५ बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा स्वास्थ्य मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही हुने पनि चेतावनी दिएको छ । अस्पतालले बिहान ९ः ३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिने र आधा दिनको बिदा काटिने जनाएको छ ।
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार, चिकित्सक तथा कर्मचारीले तोकिएको समयमा अनिवार्य रुपमा अस्पतालमा उपस्थित हुनुपर्नेछ । यस्तै अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन ‘मुस्कानसहितको सेवा’ अनिवार्य गरेको छ । रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ ।
चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने, चिकित्सकले अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य लगाउन निर्देशन दिएको छ ।











