Logo
Logo

प्रतिनिधिसभा बैठकमा यी नेताहरूले राख्दै छन् मन्तव्य 


882
Shares

काठमाडौं । आज (बिहीबार)का लागि तय भएको प्रतिनिधिसभा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये ४ दलका नेताहरूले मन्तव्य राख्न समय माग गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकमा मन्तव्य राख्ने तय भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट वर्षामान पुन मगरले मन्तव्य राख्ने तय भएको छ ।

सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो २ बजे संसद् बैठक बस्न लागेको हो । 

फागुन २१ गतेको निर्वाचनपछिको नयाँ जनादेश अनुसार आज पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

आजको बैठकमा सभाका ज्येष्ठ सदस्यरसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने छन् ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् ।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्