Logo
Logo

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज हुने


2.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण ढंगले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताएका छन्।

यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न नआउने चालकहरूलाई अब छूट नदिइने स्पष्ट पारे।

उनले भने, “ट्राफिक प्रहरीको पहिलो मिसन व्यवहारमा परिवर्तन ल्याउनु हो। प्रहरी पनि समाजकै हिस्सा हुन् र कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा गर्छौं।”

एसएसपी अधिकारीले राजश्व खातामा पुगेको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भएकाले यसमा सबै पक्ष स्पष्ट हुनुपर्ने बताउँदै, सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण बाँकी ९० प्रतिशत राम्रा मजदुरहरू बद्नाम भइरहेको उल्लेख गरे।

उनले थपे, “यदि कुनै ट्राफिक प्रहरीले अपारदर्शी ढंगले काम गर्छ वा नराम्रो व्यवहार गर्छ भने मलाई सिधै जानकारी दिनुहोस्। हामी तत्काल एक्शन लिन्छौं। कसैलाई पनि पेशागत मर्यादा उल्लङ्घन गर्ने छुट छैन। शरीरभरि मुन्द्रा लगाउने, कपाल ठाडो पार्ने र अभद्र पोशाक लगाउने चालक–सहचालकका कारण यात्रुहरू डराइरहेका छन्। आफ्नो चालक र सहचालकको हुलिया र गेट–अप परिवर्तन गर्नुहोस्। हामी उनीहरूलाई तालिम दिन तयार छौं।”

यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’का कारण चालकहरूले दिनको निश्चित रकम बुझाउन तिब्र गतिमा गाडी चलाउने र लुछाचुँडी गर्ने गरेको उनले औंल्याए। यसको सट्टा व्यवसायीहरूलाई ई–टिकटिङ र अनलाइन प्रणालीमा जान आग्रह समेत गरे।

बिहानै स्कुल बस र सार्वजनिक सवारीका चालकहरूले मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवन गरेर सवारी चलाइरहेको पाइएमा ट्राफिक प्रहरीले कठोर कारबाही गर्ने उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्