काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ । सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
विभागका अनुसार राति देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत बाँकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
बाँकी पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले बताएको छ ।











