काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि गठन भएको सरकारलाई नेपालको आन्तरिक राजनीतिक आवश्यकताभन्दा अमेरिकी रणनीतिको उपज भएको आरोप लगाएका छन् । उनले अहिलेको सरकारलाई अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ को संज्ञा दिँदै यसले नेपालको परराष्ट्र नीतिलाई छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्याउने र अमेरिकी स्वार्थलाई प्राथमिकता दिने बताएका छन् ।

सिंहले वर्तमान सरकारको मुख्य उद्देश्य नेपालको भूमिलाई चीनको तिब्बतविरुद्ध प्रयोग गर्नु रहेको आशङ्का व्यक्त गरे । महामन्त्री सिंहले सरकारका केही मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक भएको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमिमा परिणत गर्ने खतरा रहेको चेतावनी दिए ।
उनले पपुलिजम (लोकप्रियतावाद) लाई अन्तर्राष्ट्रिय समस्या भएकाले यसले फासीवाद जन्माउने जोखिम रहेको बताए । सिंहले भने, ‘हामीले युक्रेन, गाजा र इरानको अवस्था देखेका छौँ । नेपाललाई पनि त्यस्तै युद्ध भूमि बनाउने योजनाबद्ध प्रयास भइरहेको छ । जब जनतामा राजनीतिक विचारभन्दा भावना हाबी हुन्छ, तब देशले गम्भीर क्षति बेहोर्नुपर्छ । अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको सिकार भएका छन् ।’
महामन्त्री सिंहले सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको आरोप लगाउँदै लोकतान्त्रिक अधिकारहरू हनन भएकोमा चिन्ता व्यक्त गरेका छन् ।











