
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’विरुद्ध कवितामार्फत कटाक्ष गरेका छन् ।
जेनजी आन्दोलन र वर्तमान सत्ताविरुद्ध निरन्तर आक्रोश र आरोप व्यक्त गरिरहेका बादलमाथि उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा ‘कविता’ लेखेर व्यंग्य हानेका हुन् ।
यस्तो छ उनको कविता–
छोक (छोटकरी कविता)
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो।
हामी हेरेको हे¥यै भयौँ!
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)
२१ फागुनको निर्वाचनपछि गत बिहीबार पहिलोपटक बसेको प्रतिनिधिसभा बैठकमा कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता बादलले रास्वपाको जितमा अन्तरिम सरकार, सेना र प्रहरीको भूमिका रहेको आरोप लगाएका थिए । त्यसको भोलिपल्ट शुक्रबार बसेको एमाले सचिवालय बैठकमा बादलको उक्त अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल भएको थियो ।
त्यसपछि एमालेले विज्ञप्तिमार्फत सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने बताएको थियो । तर यसपछि पनि बादल रोकिएका छैनन् ।
हिजो (बुधबार) मात्र उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई बारबरा सरकारको उपमा दिँदै पश्चिमा शक्तिहरूले नै यो सरकार निर्माण गरेको गम्भीर आरोप लगाएका थिए । त्यसपछि योगेशले कटाक्ष गर्दै कविता लेखेका हुन् ।










