
काठमाडौं । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ ।
आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ । यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवद्र्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ ।
साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने जनाइएको छ । वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवद्र्धन तथा जडीबुटीमा आधारित अर्थतन्त्रको विकासमा जोड दिएको छ ।










