Logo
Logo

अध्यागमन विभागले भन्यो- नेपाली श्रमिकले थप बिल र रसिद देखाउनु पर्दैन


252
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका थप बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ ।

केही दिनदेखि सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनाका कारण श्रमिकहरूमा उब्जिएको अन्यौलता चिर्दै अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता आधारभूत कागजात मात्र देखाए पुग्ने जनाएको छ ।

पछिल्लो समय विमानस्थलमा श्रमिकहरूले बिल र रसिद समेत बोक्नुपर्ने हल्ला फैलिएपछि विमानस्थलमा भिडभाड र अन्यौलता बढेको थियो । विभागले सूचना जारी गरेर प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णय अनुसार श्रमिकहरूलाई प्रस्थान अनुमति दिँदा अतिरिक्त झन्झट नदिइने स्पष्ट पारेको छ ।

यस्तै, भिजिट भिसामा विदेश जाने नागरिकहरूको हकमा पनि प्रक्रियालाई सरलीकृत गरिएको छ । अब भिजिट भिसामा जानेहरूले कम्तीमा ६ महिनाको वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा स्वघोषणा फारम भरेर सजिलै यात्रा गर्न सक्नेछन् । यसअघि भिजिट भिसामा जानेहरूले विभिन्न अनावश्यक कागजात जुटाउनुपर्ने बाध्यतालाई गृह मन्त्रालयको निर्णयले हटाएको थियो ।

अध्यागमन विभागले कुनै पनि किसिमको भ्रममा नपर्न र आफ्नो गन्तव्य मुलुकका बारेमा पूर्ण रूपमा सुसूचित भएर निर्धक्कसँग यात्रा गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ । कागजातका नाममा विमानस्थलमा हुने अनावश्यक सास्ती कम गर्न र यात्रालाई व्यवस्थित बनाउन यो कदम चालिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्