काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

व्यवसायी शेखर गोल्छा पक्राउ परेपछि तीन संस्थाले संयुक्त रूपमा प्रतिक्रिया जनाउँदै उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको बताएका हुन् ।
संस्थाहरूले नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएका बेला यस्ता घटनाले निजी क्षेत्र त्रसित बनेको उल्लेख गरेका छन्। अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र असुरक्षित महसुस गर्न थालेमा त्यसको असर अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार निर्माणमा समेत गम्भीर रूपमा पर्ने चेतावनी दिएका छन् ।
उनीहरूले आर्थिक कसुरसम्बन्धी मुद्दामा नियामकीय निकायको प्रतिवेदनका आधारमा मात्रै पक्राउ नगरी पहिले सुनुवाइ गर्ने र कसुर प्रमाणित भएपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।
उद्यमी व्यवसायीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि पक्राउ गरिनुले समग्र निजी क्षेत्र चिन्तित र दुःखी बनेको उनीहरूको भनाइ छ ।
संस्थाहरूले व्यक्तिमात्र नभई लाखौँ रोजगारी, आपूर्ति शृङ्खला, बैङ्किङ क्षेत्र र समग्र आर्थिक प्रणालीमा यसले गम्भीर धक्का पुग्न सक्ने बताएका छन् ।
निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि सरकारले नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन थालेको र निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति मन्त्रिपरिषदबाट पारित भइसकेको अवस्थामा भइरहेको धरपकडले थप शङ्का उत्पन्न गरेको पनि उनीहरूले बताएका छन् ।
कसुर प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको स्पष्ट पार्दै संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ।
विगत चार वर्षदेखि शिथिल बनेको अर्थतन्त्र नयाँ सरकारको व्यवसायमैत्री नीति र व्यवहारबाट पुनः गतिशील बन्ने अपेक्षा गरिएको भए पनि यस्ता गतिविधिले लगानी वृद्धि र लगानीकर्ताको विश्वासमा असर नपरोस् भन्ने निजी क्षेत्रको चाहना रहेको संयुक्त वक्तव्यमा उल्लेख छ ।











