
काठमाडौं । ठेक्का प्रणाली ह्याक प्रकरणमा सीआईबीले थप दुई अभियुक्तलाई प्रक्राउ गरेको छ । सार्वजनिक खरिदसम्बन्धी ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको हो ।
विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ३० वर्षिय स्वदेश पोखरेल र ४५ वर्षिय प्रकाश ढुंगानालाई पक्राउ गरिएको सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरेललाई काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला क्षेत्रबाट र ढुंगानालाई बालाजुबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओको ईजीपी प्रणालीमा प्रवेश गरी विभिन्न ठेक्काका विवरण परिवर्तन गर्ने, आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित कागजातमा हस्तक्षेप गर्ने जस्ता गतिविधि भएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । सोही क्रममा थप दुई अभियुक्त संलग्न रहेको पुष्टि भएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
उनीहरू क्रमशः ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक रहेको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।











