काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।
बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र साङ्गठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने जनाइएको छ । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका थिए, जसलाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।
साङ्गठनिक संरचनाका सन्दर्भमा प्रदेश इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी गरिएको छ । जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) बिच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ । जसअनुसार कुनै प्रदेशमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह-इन्चार्ज पाउनेछ भने एकीकृत समाजवादीले इन्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सह-इन्चार्जको जिम्मेवारी पाउनेछ । यसैगरी, भूगोलमा जस्तै ३२ वटा विभागहरूमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरिनेछ ।
बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ । तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । यसका साथै, जनवर्गीय सङ्गठन र मोर्चाको एकता, सदस्यता नवीकरण र एकताको मापदण्डका विषयमा समेत आजै निर्णय हुन सक्ने बताइएको छ ।
६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ वडा तहदेखि नै अधिवेशनको प्रक्रिया अघि बढाउन बैठकले महाधिवेशनको मिति तय गर्ने सक्ने जनाइएको छ ।











