Logo
Logo

मनोहराका बाँकी घरहरू बिहानैदेखि भत्काउन थालियो


819
Shares

काठमाडौं । मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । १३ वटा डोजर प्रयोग बिहान ७ बजेदेखि बाँकी घरहरू भत्काउन सुरु गरिएको हो ।

मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले आज बिहानै देखि भत्काउन थालिएको हो । 

घर टहरा भत्काउन भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीसँगै डोजरहरू प्रयोग गरिएको छ । यसअघि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्वासी बस्तीका घर टहरा भत्काइएको थियो । त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको छ ।

काठमाडौं उपत्यकामा मात्र बागमती नदी किनारसहितका २७ ठाउँमा सुकुम्वासीसहितका नाममा सरकारी जग्गा अतिक्रमण भएको छ । यी क्षेत्रमा तीन हजार ४९६ घर टहरा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ४ मङ्सिर ०८० मा सर्वोच्च अदालतमा बुझाएको लिखित बहस नोटमा उल्लेख छ ।

जसमध्ये काठमाडौं महानगरमा दुई हजार १७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १५६, गोदावरीमा २१५, ललितपुर महानगरमा १७ र भक्तपुर जिल्लामा ७७३ घर टहरा छन्  । देशभरि करिब १५ देखि १६ लाखसम्म सुकुम्वासी परिवार रहेको सरकारी आँकडा छ  ।

प्रतिक्रिया दिनुहोस्