काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र अन्योललाई संसदीय दलको सार्वभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम भएको बताउँदै यस्तो कार्य तत्काल रोक्न माग गरेका छन् ।
खड्काले संसदीय दलका सदस्यहरूको यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै संसदीय दलको नेता चयन प्रक्रिया पार्टीको विधानअनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
उनका अनुसार पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलका सदस्यहरूले केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा सर्वसम्मत वा प्रतिस्पर्धामार्फत स्वतन्त्र र सार्वभौम ढङ्गले निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । यस प्रकारको अनावश्यक हस्तक्षेप र हतारको राजनीति कसैको हितमा नरहेको बताउँदै नेता खड्काले संसदीय दलले अविलम्ब दलको नेता चयन गरी जनता र अन्तर्राष्ट्रिय समुदायको नजरमा पार्टीको छविमा थप क्षति हुनबाट जोगाउनुपर्ने बताएका छन् । उनले यस विषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।











