काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठकमा समूहका शीर्ष नेता, १४ औँ महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ ।
बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन् । उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए । तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरूसँगको बैठक र छलफल जारी राख्दै आएका छन् ।
उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीतको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । बरु सभापति गगन थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए ।











