काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको कार्यविभाजनमा आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएकोमा भीम रावलले आपत्ति जनाएका छन् ।

उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी तोकीएको भन्दै आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’
पार्टीले प्रदेशस्तरीय इन्चार्ज र संयोजकहरूको जिम्मेवारी बाँडफाँट गर्दा सुदूरपश्चिममा युवा नेतृत्वलाई प्राथमिकता नदिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरू हिजो मङ्गलवार टुङ्गो लगाएको हो ।











