
छोरीले विद्यावारिधि प्राप्त गरेकी थिई । ‘डबल डाक्टर’ भएकी थिई ऊ । र, उसको दीक्षान्त समारोहमा सामेल हुनकै निम्ति भनेर यसपाली म जापान गएकी थिएँ । समारोहभन्दा अघि घुमघामको क्रममा बेप्पु पुगेका थियौँ । बेप्पु छोड्दा हामीसँगै निशिकावा पनि टोकियो आइन्– छोरीले विद्यावारिधिको टोपी लगाएको हेर्न । उनको अनुहारमा देखिएको गर्व र खुशीले म भित्रैदेखि कृतज्ञ भएँ । कुन जन्मको सम्बन्ध थियो थाहा छैन, यो जीवनमा त्यति राम्रो साथी पाएँ ।
छोरी सानै थिई चीनमा हुँदा । निशिकावा त्यो बेला पनि उसको भविष्य राम्रो होस् भनी वास्ता राख्थिन्ँ । अहिलेको सफलतामा संयोगले उनकै उपस्थितिमा जापानकै सर्वोत्कृष्ट युनिभर्सिटीबाट उसले स्नातकोत्तर मात्र हैन पिएचडी गरेकी थिई । उनी असाध्यै खुसी भइन्, उनकै सन्तानको सफलतामा जस्तो । मान्छेमा निहीत प्रेमको कुनै सिमाना हुँदैन रहेछ । यसैको उदाहरण थियो यो सब !
यो दोस्रो पल्टको जापान यात्रालाई विशेष गरी दुइटा कुराले अविस्मरणीय बनायो । पहिलो कुरा त छोरीको सफलता नै भइहाल्यो । अर्को महत्वपूर्ण कुरा थियो, पाइनसक्नु पुराना साथीहरुसँगको पुनर्मिलन । निशिकावा र हामी आमाछोरी फेरि रचनाकै अपार्टमेन्टमा बस्यौँ । निशिकावाको निम्ति भनेर नाति शिवानको कोठा मिलाइएको थियो । कहिले नेपाली खाना कहिले जापानी खाना बनाएर सँगै खायौँ ।
छोरीको युनिभर्सिटीको महत्वपूर्ण अवसरमा सँगसँगै पुग्यौं । समारोहमा सँगसँगै रमायौँ । म त आमा, आफ्नो जीवनकै उचाई पनि बढेको महशुस भइरहेको थियो । बुवा सरोज पनि सँगै भएको भए अझ कति रमाउँथे होलान् ! एउटा सक्षम नागरिक देशमा थपिएको महशुस गर्दा आमाबुवा दुबैको मन प्रफुल्लित हुने नै भयो ।
जापान बस्ने दिन अब घट्दै थियो । पूर्व निर्धारित योजना अनुसार निशिकावाकै फोनबाट टोकियोमा भेट्न सकिने केही साथीहरुसँग एउटा रेष्टोराँमा भेटेर छोरीको सेलेब्रेशन मान्दै लञ्च गर्ने योजना थियो । टोकियोमा घुम्नुपर्ने ठाउँहरु पनि करिब करिब घुम्न भ्याईसकिएको थियो । यसपाली भने टोकियो घुमाउने प्रमुख गाइड छोरी नै थिई ।
एकदिन भने साथी ज्ञानुले टोकियोको बौद्ध विहार घुमाउन लगिन् । भव्य रहेछ विहार । र, विहारकी संरक्षक एक महिला पनि भव्य रहिछन् । ठूलो विहारको ठूलो कार्पेटको बुट्टाले आँखा तान्यो । लाली गुराँस, हिमाल आदि बुद्ध जन्मेको देशको परिचय दिईरहेको थियो कार्पेटले समेत । त्यो दिन ज्ञानुले नै एउटा नेपाली रेष्टोराँमा लगेर नेपाली खाना खुवाइन् । उनी जापानी नागरिकसँग विवाह गरेर धेरै वर्ष अघिदेखि नै जापानमा जीवन बिताइरहेकी थिइन् । नेपालबारे, जापान बारे धेरै कुरा गर्ने मन थियो । कुरा गर्दागर्दै त खाना खान पनि बिर्सिइन् उनले ।
नेपाली रेष्टोराँ चलाइरहेकी बहिनी पनि नेपाली चेली नै थिइन्– काठमाडौंकै एक शाक्य परिवारकी । लामो समयदेखि कामको कारण नेपाल जान नपाएको कुरा सुनाउँदा चित्त पनि दुखाईन् । आमा बिरामी भएको खबरले उनको आँखामा आँसु छचल्कियो । देशबाट टाढा बस्नु, आफन्तहरूबाट टाढा जीवन बिताउनु भनेको पनि कति गाह्रो हुँदोरहेछ भन्ने कुरा ती दुई नेपाली चेलीहरुबाट बुझेँ । उनीहरुको भावना र आँसुले धेरै धैरै बाहिर बस्न बाध्य भएका नेपालीहरुको कथा बताइरहेझैँ लाग्यो ।
टोकियो छोड्नु दुई दिनअघि शनिबार छुट्टीको दिन पारेर पुराना साथीहरूसँगको भेटघाट जीवनमा कहिल्यै बिर्सन नसक्ने क्षण भइदियो । टोकियोमा धैरै साथीहरु थिए पहिले । यो पालीको भेटघाटमा सायद सबैसँग सम्पर्क गर्न सम्भव पनि भएन होला ।साथीहरूको समयको अभावको कारण पनि होला पाँचजना साथीहरूसँग मात्र भेट्न सकेँ ।
निशिकावा त हामी सँगै नै थिइन् । मेरो लेखन यात्रामा सबै भन्दा नजिकबाट र धेरै सहयोग पु¥याउने साथी सुसुमु आओकि पनि थिए, जसले मेरा प्रत्येक लेखलाई जापानी भाषामा अनुवाद गरेर जापानी भाषामा प्रचार गरिदिन्थे । अत्यन्त विद्वान वातावरणविद् पनि हुन् उनी । मलाई लेखक बनाउने बिशेष ती दुई साथी सुसुमु र निशिकावा प्रति कृतज्ञता ब्यक्त गर्न पुरानै अन्य देशमा छापिसकेका लेखहरु छानेर सानो एउटा पुस्तिकाको पाण्डुलिपि उनीहरूलाई नै समर्पण गरेकी थिएँ । त्यसको भावनात्मक अर्थ भिन्दै नै थियो ।
अर्की पुरानो असल साथी खायोको– म चीनमै हुँदा नेपाल पनि पुगिसकेकी साथी । मेरो माइतीमा समेत पुगेर, आमा र दिदीहरूसँग फोटो खिचेर, मेरो निम्ति माइतीको कोशेली समेत ल्याइदिएकी थिइन् । उनी पढाइ सकेर जापान फर्किने बेला लामो समय आफ्नै हातले एउटा कलात्मक तन्ना बनाएर गिफ्ट दिएर गएकी थिइन् । म कहिल्यै बिर्सनै सक्दिनँ । यसपटकको भेटघाटमा उनको पनि सक्रियता थियो । ती असल साथीहरुसँग भेट्नु भनेको झण्डै तीन दशकमा खोला फर्के सरह थियो मेरो निम्ति ।
अझै बिर्सन नसक्ने क्षण त रेष्टोराँमा योको र मासुओको प्रेमिल जोडीको आगमन थियो । नेपाललाई अत्यन्तै माया गर्ने त्यो जोडीको विवाह हुनुको मूल कारण नै दुवैलाई नेपाल मनपर्नु थियो । उनीहरुको घरमा नेपालको झण्डादेखि नेपाल झल्काउने अनेक कुराहरु भेटिन्छन् ।
हरेक वर्ष इन्द्रजात्रामा दुबैजना नेपाल आएर वसन्तपुरको होटलमा बस्ने र केही समय ट्रेकिङमा जाने गर्थे । मासुओ सान त प्रोफेसनल फोटो ग्राफर पनि थिए । नेपालमा उनीहरुको केहीपल्ट फोटो प्रदर्शन भैसकेको थियो ।
जापानमा पनि बरोबर भईरहने फोटो प्रदर्शनले नेपाललाई जापानमा चिनाउने काम भइरहेको कुरा सुन्दा धेरै खुसी लाग्छ अझै पनि । ‘मेरो देश नेपाल’ शीर्षकमा उनले खिचेका फोटोहरुको संकलन पुस्तकाकारमा निस्किएको थियो । नेपालप्रतिको उनको प्रेम प्रत्येक फोटोले झल्काउँथ्यो ।
म जापान पुग्नु दुई वर्ष जति अगाडि उनीहरु नेपाल पुग्दा वसन्तपुरकै होटलमा बसेका थिए । उनीहरुको फोन पाएर म भेट्न गएकी थिएँ । मासुओको टाउकोको अपरेशन भएको रहेछ । हिँडडुल गर्न उनी ह्वीलचेयरमै निर्भर भएका रहेछन् । तर त्यो अवस्थामा पनि एकपल्ट जसरी पनि नेपाल पुग्ने उनको इच्छा पूरा गर्न योको सानले नेपाल ल्याइदिएकी थिइन् । त्यो नै अन्तिम भेट हुने हो कि जस्तो लागेको थियो । भावुकता र संवेदनशीलतामा डुबेको भेटघाट थियो त्यो ।
दुईवर्षपछि २०१८ मार्चको त्यो झरी परिरहेको दिनमा साइतामादेखि लामो बाटो पार गर्दै त्यो प्रिय जोडी मलाई भेट्न टोकियो आइपुगे । मासुओ सानको ह्वीलचेयर धकेल्दै योको रेस्टोराँमा पस्दा मेरो मन भावविह्वल भयो । उनीहरू मुसुमुसु हाँसिरहेका थिए, मेरो भने आँखामा आँसु झर्यो । उनीहरुप्रति कृतज्ञ हुनु सिवाय अरु के गर्न सक्थेँ र म ! प्रिय साथीहरूसँगको त्यो भेटघाटमा सँगै बसेर खायौँ, हाँस्यौँ, आत्मियता साट्यौँ । छोरी डा. रोलिनाको सफलतामा सबै उत्तिक्कै खुसी भयौँ ।
यसरी अविस्मरणीय भइदियो त्यो भेट !











