
काठमाडौं । सरकारले नेपाललाई परम्परागत श्रम-आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार’ लाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने घोषणा गरेका हुन् ।
सरकारको यो नयाँ नीतिले वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रलाई विस्थापित गर्दै ज्ञान, डिजिटल सेवा, रिमोट वर्क र सूचना प्रविधि निर्यातमा जोड दिएको छ । विशेषगरी सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटिङलाई निर्यातमुखी उद्योगका रूपमा विकास गरिने छ ।
डिजिटल पूर्वाधारतर्फ सरकारले डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार निर्माणमार्फत नेपाललाई क्षेत्रीय ‘टेक हब’ बनाउने लक्ष्य राखेको छ । प्रविधि निर्यात गर्ने उद्योगहरूलाई वित्तीय सहुलियत, लगानी सहजीकरण र अनुसन्धानमा कर प्रोत्साहन दिने सरकारको योजना छ । साथै, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिएर विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने राष्ट्रपति पौडेलले बताए ।












