काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका बस्ती संरक्षणको काम कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद दुलालले वर्षायाम नजिकिँदै जाँदा उच्च जोखिममा रहेका बस्तीको संरक्षणका लागि तत्काल काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले यसअघि प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा पनि आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-२ का समस्याबारे ध्यानाकर्षण गराएको स्मरण गराए ।
दुलालले भने, “केही हप्ताअघि सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल गर्न सकिने कामबारे छलफल गर्न बैठक बोलाएका थिए। त्यस क्रममा मैले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका विभिन्न बस्ती वर्षायाममा थप जोखिममा पर्ने भएकाले तत्काल संरक्षणको काम अघि बढाउनुपर्ने विषय उठाएको थिएँ । त्यो काम अहिले कहाँ पुग्यो ? ”
उनले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका लागि घोषणा गरिएको सामुदायिक उत्थान कार्यक्रम अझै कार्यान्वयनमा नआएकोप्रति पनि असन्तुष्टि जनाए । बजेट विनियोजन भइसके पनि गठन आदेश नहुँदा कार्यक्रम रोकिएको भन्दै उनले खानेपानी मन्त्रालयको ढिलासुस्तीप्रति प्रश्न उठाए ।
“मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामुदायिक उत्थान कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ । तर गठन आदेशकै अभावमा कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । आखिर त्यो आदेश कहिलेसम्म मन्त्रालयमै थन्किने हो ?” उनले प्रश्न गरे ।
सांसद दुलालले मध्यपहाडी लोकमार्गअन्तर्गत बन्देउ–बाहुनेपाटी सडकखण्डको दयनीय अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए । एक दशकदेखि जीर्ण बनेको उक्त सडकखण्डको निर्माण कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने माग गर्दै उनले काममा तीव्रता दिन आग्रह गरे।
उनले मेलम्ची–इन्द्रावती क्षेत्रको संरक्षण, सामुदायिक उत्थान कार्यक्रमको कार्यान्वयन र मध्यपहाडी लोकमार्गको निर्माण प्रगतिबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।














