काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थान र अधिकार सुनिश्चित गर्न आगामी बजेटमा प्राथमिकताका साथ कार्यक्रम तथा स्रोत विनियोजन गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले दलित तथा सिमान्तकृत समुदाय अझै पनि विभेद र अन्यायको मारमा रहेको उल्लेख गर्दै उनीहरुलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
उनले हिरासतभित्र हुने मृत्युका घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनालाई सहज रूपमा आत्महत्याको संज्ञा दिन नहुने धारणा राखिन् । इन्सेकको तथ्यांक उद्धृत गर्दै उहाँले पछिल्लो एक वर्षमा हिरासतभित्र ८८ जनाको मृत्यु भएको र त्यसमध्ये ५२ प्रतिशत दलित तथा सिमान्तकृत समुदायका व्यक्ति रहेको बताइन् ।
सांसद विश्वकर्माले भनिन्, “५६ प्रतिशत मृत्युलाई आत्महत्याको रूपमा वर्गीकरण गरिएको छ । श्रीकृष्ण विकको मृत्युलाई आत्महत्या भनिनु नौलो नहोला, तर हिरासतभित्र हुने अधिकांश मृत्युलाई सहज रूपमा आत्महत्या भन्नु स्वाभाविक देखिँदैन । त्यसैले पीडितलाई न्याय दिने विषयमा सरकारले ढिलाइ गर्नु हुँदैन ।”
उनले सरकारसँग दलित समुदायलाई न्याय, सुरक्षा र अवसरको पहुँचमा प्राथमिकता दिन आग्रह गर्दै बजेट विनियोजन गर्दा पनि उनीहरुको हितलाई केन्द्रमा राख्नुपर्ने बताइन्।
सांसद विश्वकर्माले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।














