
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष पत्रकार सम्मेलन गर्दै कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरूलाई आग्रह गरिएको बताए ।
उनले भने, ‘१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ ।’
कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरू राख्ने भन्दै प्रवक्ता चालिसेले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे ।













