
काठमाडौं । ग्लोवल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । स्वीकृत बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
अध्यक्ष ढकालले भने, ‘आर्थिक वर्ष २०८२÷८३ मा बैंकको संचालन मुनाफा रु. ८ अर्ब ८३ करोड र करपछिको मुनाफा रु.६ अर्ब ४ करोड हासिल गरेको छ । १० प्रतिशत कर प्रयोजनसहित अर्थात ३ अर्ब ८१ करोड १५ लाख ८५ हजार २ सय ६१ बराबरको सेयरधनीलाई प्रतिफलका रुपमा ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छौँ । बोनस सेयर वितरण प्रश्चात बैंकको चुक्ता पुँजी रु ३९ अर्ब ६४ करोड ४ लाख पुग्नेछ । साथै बैंकले २०८२÷८३ का लागि प्रस्तावित १० प्रतिशतसहित सेयर धनीलाई प्रति सेयर रु. ८५.२० प्रतिशत नगद लाभासं प्रति सेयर १६०.९२ बोनस सेयर गरी २४६.१२ प्रतिशत बराबरको लाभास वितरण गरिसकेको समेत जानकारी गराउछु । विप्रेषण नेपालको अर्थतन्त्रको मेरुदण्ड भएझैँ बैंकको व्यवसायको पनि एउटा प्रमुख आधार हो । स्वदेशी तथा विदेशी व्यवसायीक साझेदारहरुसँग भित्रने रेमिट्यान्सलाई थप वृद्धि गर्न र रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइनेछ । यस कार्यका लागि बैंकले स्थापना गरेको गैर बैकिग तथा वैदेशिक बैंकिङ विभागलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ । संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई बैंकमा खाता खोली संचालन गर्न सहज हुने अनलाइन एकाउन्ट, भिडियो केवाइसीलाई अझ बढि सक्षम प्रभावकारी बनाइनेछ । विप्रेषणमा आधारित कर्जा लगानीलाई प्रवद्र्धन गरिनेछ ।’
उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहो¥याए । साथै, ग्राहकहरुलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने जानकारी पनि उनले दिए । सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभामा नियमनकारी निकायका प्रतिनिधिहरु, शेयरधनी तथा संस्थागत लगानीकर्ताहरु र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति थियो । आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ । साथै, बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रुपमा स्थापित छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
साथै, हालैको भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितहरुलाई तत्काल राहत र उद्धारको लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा बैंकका कर्मचारीहरुको १ दिनको तलब बराबरको रकम सहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।













