काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न पाँच राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार दुई सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने तीन खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सबै सवारीसाधनको आवागमन रोकिएको छ । यस्तै हिल्सा–सिमकोट सडक खण्डको नाम्खा गाउँपालिकामा पनि यातायात पूर्ण रूपमा बन्द छ ।
मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका-५ बोखिम क्षेत्रमा र कोशी राजमार्गको संखुवासभा मकालु गाउँपालिका–३ नयाँबस्ती क्षेत्रमा पहिरोका कारण एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।
त्यस्तै बेनी–जोमसोम सडक खण्डको म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पनि सवारी साधन एकतर्फी रूपमा चलिरहेका छन् ।














