काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद भवन हजारौँ सहिदको बलिदानको जगमा बनेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले संसद भवन बाहिरबाट सिमेन्ट, इँटा र फलामले बनेको देखिए पनि यसको अन्तर्यमा देशका हजारौँ सहिदको रगत र बलिदान रहेको उल्लेख गरे ।
उनले समावेशी प्रतिनिधित्वका लागि विगतमा भएका संघर्ष र आन्दोलनको स्मरण गर्दै आफूहरूले त्यसैको लागि सशस्त्र तथा शान्तिपूर्ण आन्दोलन गरेको बताए ।
प्रचण्डले भने, “यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्यौँ । यस भवनको जगमा त्यही शहादत छ । हरेक भित्ता बलिदानले रंगिएका छन् । म सबै सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीप्रति हार्दिक कृतज्ञता प्रकट गर्छु ।”
त्यस्तै उहाँले हालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले झन्डै दुई तिहाइ सफलता हासिल गरेको भन्दै बधाई समेत दिए । उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई पनि विशेष बधाई व्यक्त गरे ।
प्रचण्डले आफू नेतृत्वको दल निर्वाचन परिणामका हिसाबले कमजोर भए पनि लोकतान्त्रिक वातावरण निर्माणमा आफ्नो भूमिकालाई निरन्तरता दिएको उल्लेख गरे ।














