Logo
Logo

बादलले सेनामाथि प्रश्न उठाएपछि रास्वपा र राप्रपाको आपत्ति


1.4k
Shares

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपाली सेनामाथि दिएको अभिव्यक्तिपछि प्रतिनिधिसभामा विवाद उत्पन्न भएको छ । आजको बैठकमा उनले सेनाको भूमिकाबारे टिप्पणी गरेका थिए ।

The current image has no alternative text. The file name is: Rambahadur-thapa-badal-3.jpg

“देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोलिँदा नेपाली सेना प्रमुख रक्षक रहस्यमय ढंगले किन मूकदर्शक बन्यो ?” भन्दै उनले प्रश्न उठाए ।

त्यसैगरी, उनले लिपुलेकमा अतिक्रमण हुँदा सेना बेखबर रहेको र सुकुम्बासी बस्तीमा भने परेड खेलिरहेको टिप्पणी गर्दै भने, “लिपुलेकमा अतिक्रमण हुँदा बेखबर रहने त्यही सेना सुकुम्बासी बस्तीमा किन परेड खेल्दैछ ?”

बादलको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले आपत्ति जनाए । उनले नेपाली सेनालाई विवादमा तान्ने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउँदै उक्त अंश रेकर्डबाट हटाउन माग गरे ।

“उहाँले नेपाली सेनालाई विवादमा ल्याउने गरी अभिव्यक्ति दिनुभएको छ,” खनालले भने । उनले बादलले आफ्नो पार्टी रास्वपाबारे दिएको अभिव्यक्ति पनि रेकर्डबाट हटाउन माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्ने समय दिए । तर, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले समय माग गर्दै आपत्ति जनाइन् ।


“नेपाली सेनामाथिको टिप्पणी केवल संस्थामाथिको आलोचना होइन, यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो। यस्तो अभिव्यक्ति उहाँबाट निरन्तर आइरहेको छ, म त्यसप्रति खेद प्रकट गर्छु,” उनले भनिन् ।

उनले नेपाली सेना कुनै दलको नभएको भन्दै संगठनप्रति प्रतिशोधपूर्ण अभिव्यक्ति नदिन आग्रह गरिन् । साथै, यसअघि पनि बादलले सेनाप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै त्यसलाई पनि रेकर्डबाट हटाउन माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्