काठमाडौं । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितहरूको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउ पुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागेको छ ।

यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले पीडित बचतकर्तालाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालन गर्न आवश्यक कार्यविधि तयार पारिसकेको छ ।
कोषमा रकम प्राप्त भएपछि पीडितहरूको कागजातका आधारमा रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्तालाई छिट्टै रकम फिर्ता गरिने छ ।
मन्त्रालयले क्रमशः ठूलो रकम निक्षेप गर्ने बचतकर्ताको पनि रकम फिर्ता गर्ने योजना बनाएको छ । पीडित परिवारलाई राज्यले प्रत्याभूति दिने उद्देश्यले यो गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले सहकारी क्षेत्रको समस्या समाधानलाई प्राथमिकतामा राखेको छ । बचत तथा ऋण कारोबार गर्ने ११ हजार ६ सय सहकारी संस्थाहरू राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता प्रक्रियामा छन् । प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यका साथ देशभरका सहकारीहरूलाई दर्ता गरी सञ्चालन इजाजत पत्र प्रदान गर्दै आएको छ ।














