काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को आन्दोलनलाई विश्वभर सत्ता परिवर्तनको नेपाली भर्सन भएको टिप्पणी गरेका छन् ।

शुक्रवार, प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बादलले फागुन २१ को निर्वाचन परिणाम भदौ २३ र २४ का घटनाको बाई प्रडक्ट भएको भन्दै भदौ २३ र २४ को आन्दोलन विश्वभर सत्ता परिवर्तनको सुनियोजित नेपाली भर्सन भएको टिप्पणी गरेका हुन् ।
संसद्मा बोल्दै नेता बादलले संसद्को चालु अधिवेशनमा सबै विधेयक एकतर्फी रूपमा पारित गरेको भन्दै विधि निर्माणमा रास्वपाले आफ्नो एकाधिकार ठानेको आरोप लगाए ।
उनले भने,’ ‘६ महिनामा प्रतिनिधि सभा सरकारको प्रति छाया मात्र बन्यो । हामीले ६ महिना सत्ता पक्षको ढ्याप ढ्याप सुन्यौं, विपक्षीको आक्रोश देख्यौँ, र पछिल्लो समय सत्ता पक्षमा आशाको किरण देखिएको छ, सभामुखले प्रधानमन्त्रीमाथि रुलिङ गर्ने कोसिस गर्नु भएको छ, सत्ता पक्षका कतिपय सांसदहरूले सरकारको हुकुमी शासन शैलीप्रति प्रश्न खडा गर्नुभएको छ ।’
उनले बालेन्द्र शाहको सरकारले फासिवादी शासनको ६ महिना पुरा गरेको भन्दै पुर्ब प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेर कार्यकाल सुरु गरेर पछिल्लो पटक पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेको बताउँदै सरकारको आलोचना गरे ।
नेता बादलले प्रतिनिधि सभा पुनस स्थापनाको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको उल्लेख गर्दै आफूहरूको राजनीतिक अडान अहिले पनि कायम रहेको स्पष्ट गरे ।













