काठमाडौं । रामबहादुर थापा बादलले संसद्मा प्रयोग गरेका केही अभिव्यक्ति असंसदीय ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत भएको भन्दै सभामुखले “अराजकहरूको भिड”, “राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू” र “नेपाली सेना मुकदर्शक” भन्ने शब्द अभिलेखबाट हटाइएको जानकारी गराएका हुन् ।
सभामुखको रूलिङपछि एमाले प्रमुख सचेतक ऐन महरले कुन शब्द हटाइएको हो भन्ने स्पष्ट पार्न माग गरेका थिए । त्यसपछि सभामुख अर्यालले हटाइएका अभिव्यक्तिबारे जानकारी दिएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी, जेनजी आन्दोलन र नेपाली सेनाबारे टिप्पणी गर्दै “देश खरानी हुँदा सेना किन मूकदर्शक बन्यो? ” भन्दै प्रश्न उठाएका थिए । उनले लिपुलेक अतिक्रमणदेखि सुकुम्बासी बस्तीमा सेनाको भूमिकामाथि पनि टिप्पणी गरेका थिए ।
बादलको अभिव्यक्तिप्रति रास्वपा सांसदहरूले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए । बुधबारको बैठकमा पनि सत्तारुढ रास्वपा सांसदहरूले उक्त माग दोहोर्याएका थिए ।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले अशिष्ट, अपमानजनक, आपत्तिजनक वा असंसदीय शब्द प्रयोग गर्न पाउँदैनन् । कुनै व्यक्ति, समुदाय, धर्म वा संस्थालाई होच्याउने अभिव्यक्ति दिन नहुने पनि नियमावलीमा उल्लेख छ ।














