काठमाडौं । नवनियुक्त सङ्घीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहका बीच उनले आफ्नो पदको शपथ लिएका हुन् । उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्।
सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए । संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ ।














