Logo
Logo

सुकुम्बासीलाई घर भाडाबापत मासिक १५ हजार दिने सरकारको तयारी


0
Shares

काठमाडौं । लालपुर्जाविहीन सुकुम्बासीलाई सरकारले घरभाडाबापत मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल ले वास्तविक सुकुम्बासीको पहिचान गरी लालपुर्जा वितरण नहुँदासम्म अस्थायी व्यवस्थापनस्वरूप मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका हुन्।

बिहीबार बसेको समितिको बैठकमा उनले सरकारले वास्तविक सुकुम्बासीको पहिचान प्रक्रिया अघि बढाइरहेको र उनीहरूको बसोबास व्यवस्थापनका लागि अस्थायी रूपमा घरभाडा उपलब्ध गराउने तयारी गरेको बताए।

बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का मन्त्री तथा पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापन सम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै उक्त योजनाबारे जानकारी गराएका थिए।

काठमाडौँका थापाथली, गैरीगाउँ, मनहरालगायत क्षेत्रबाट विस्थापित भएका वास्तविक सुकुम्बासीलाई लक्षित गर्दै घरभाडा उपलब्ध गराउने तयारी गरिएको सरकारको भनाइ छ।

हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा भूमिहीनको पहिचानका लागि ‘स्क्रिनिङ’को काम भइरहेको पनि सरकारले जनाएको छ।

बैठकमा शहरी विकास मन्त्रालयका प्रतिनिधिले उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्