Logo
Logo

मुख्यमन्त्री यादव विश्वासको मत लिन डराए, ‘छापामार शैली’मा कार्यसूची फेरिएको जनमतको आरोप


315
Shares

काठमाडौं । मधेश प्रदेश सभामा मुख्यमन्त्री कृष्ण यादवले लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको विषयलाई लिएर जनमत पार्टीले कडा आपत्ति जनाएको छ ।

जनमत पार्टीका प्रदेश सभा सदस्य संजय कुमार यादवले सभामुखले ‘छापामार शैली’मा नियमावलीविपरीत कार्यसूची हेरफेर गरेको आरोप लगाए । आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठकमा नेपाली कांग्रेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची थियो । तर, उक्त कार्यसूची अचानक परिवर्तन गरिनु संसदीय मर्यादा र नियमविपरीत भएको सांसद यादवले बताए ।

उनले सभामुखमाथि प्रश्न उठाउँदै भने– ‘हामीले अध्ययन गरेको नियमावलीको कुन कानुन टेकेर सभामुखज्यूले कार्यसूची हेरफेर गर्नुभयो ?’

यादवले एकपटक सरकारले विश्वासको मत लिने निर्णय गरिसकेपछि त्यसलाई दिने वा नदिने विषय सदनमै टुंगिनुपर्ने बताए । तर, सत्तापक्षले आफ्नो अनुकूलता अनुसार अन्तिम समयमा कार्यसूची परिवर्तन गर्नु संसदीय अभ्यास र लोकतान्त्रिक मूल्यविपरीत रहेको उनको भनाइ थियो ।

गत वैशाख २२ गते जनमत पार्टीले कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि संविधान तथा कानुनी व्यवस्थाअनुसार सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो । सोहीअनुसार आज विश्वासको मत लिने तयारी भएको थियो । तर, कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने सम्भावना देखिएपछि सरकारले अन्तिम समयमा विश्वासको मत नलिने गरी कार्यसूची परिवर्तन गराएको छ ।

प्रतिक्रिया दिनुहोस्