काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दलका प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ताहरूलाई श्रमदान, सङ्गठन सुदृढीकरण र पदीय उत्तरदायित्वप्रति पूर्ण जिम्मेवार बन्न निर्देशन दिएका छन्।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा बोल्दै अध्यक्ष साम्पाङले माथिल्लो ओहोदामा पुगेपछि प्रत्यक्ष रूपमा काम नदेखिने भए पनि कर्तव्यको दायरा भने झन् फराकिलो हुने उल्लेख गरे। उनले भने, ‘प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ। जति ठुलो क्षेत्रमा जिम्मेवारी हुन्छ, त्यति काम देखिँदैन। तर दायित्व धेरै हुन्छ। प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्र सीमित हुन पाइँदैन।’
पार्टीभित्र नेता र कार्यकर्ताबीच कुनै विभेद नरहेको र सम्पूर्ण सदस्यहरू सङ्गठनका बराबर हिस्सेदार भएको उनको भनाइ थियो। फुटबल टोलीको उदाहरण दिँदै उनले अध्यक्षले मात्र नभई मैदानमा रहेका जुनसुकै सदस्यले पनि गोल गर्न सक्ने भएकाले हरेक व्यक्ति उत्तिकै सक्रिय हुनुपर्नेमा जोड दिए।
श्रमदानलाई पार्टीको मुख्य मेरुदण्डका रूपमा व्याख्या गर्दै उनले भने, ‘श्रम–संस्कृति पार्टी काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन्। यो सफलता होइन, निरन्तरताको परिणाम हो।’
सङ्गठन अहिले जग बसाल्ने क्रममा रहेको जानकारी दिँदै उनले आगामी महाधिवेशनमा केवल सक्रिय भूमिका निभाएका सदस्यहरूले मात्रै उम्मेदवारी दिन तथा मतदान गर्न पाउने कानुनी प्रबन्ध गरिने स्पष्ट पारे।
दलभित्र महिलाहरूको उपस्थिति कम्तीमा ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साम्पाङले प्रदेशका पदाधिकारीहरूलाई एकापसमा निरन्तर संवादमा रहन, नियमित बैठकहरू डाक्न र सङ्गठनलाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट अगाडि बढाउन आह्वान गरे।














