काठमाडौं । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दशैँसम्म सबै सुकुम्वासीले पुर्जा पाउने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँगको कुराकानीमा उनले दशैँसम्म सबै सुकुम्वासीले पुर्जा पाउने बताउँदै कसैको उक्साहटमा आन्दोलनमा नजान अनुरोध गरेका हुन् ।

उनले भने, ‘हामी भनेको गफ नदिई कन काम गर्ने टोली हो । सधैँ त्यसै गर्नेवाला हो । हामीले पहिलो क्याबिनेटको बैठकमा सुकुम्वासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढाएका छौँ । त्यो सधैँको लागि समाधान गर्ने भनेर ५ कार्य योजना बनायौँ, क्याबिनेटमा १०० दिनभित्र यसको के के गर्ने, के के गर्ने, के के गर्ने, एकदम टाइमलाइन अनुसार गएका छौँ । अब यसमा काठमाडौँको केस भनेको त एकदमै अलग हो नि त । अरूलाई ढाँट्न त भएन नि, वर्षामा मान्छेहरू मरेको, समस्या भएकाले उनीहरूलाई विकल्प चाहिएको हो ।’














