Logo
Logo

नेपाल वायुसेवा निगमको निजीकरणप्रति हर्क साम्पाङको असहमति


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाएका छन् ।

शुक्रवार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैबाट निस्किएका थिए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पारे । प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको र अहिले विशेष व्यक्तिगत व्यस्तताका कारण निस्कनुपरेको उनले बताए ।

बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्पणी गर्दै अध्यक्ष राईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको योजनाप्रति असहमति व्यक्त गरे । सरकारी निकायहरूलाई निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः ती निकायहरू बेच्नु सरह भएको उनको तर्क छ । विगतमा पनि सरकारी कलकारखानाहरू बन्द गर्ने र सम्पत्ति बिक्री गर्ने प्रवृत्तिले देशलाई घाटा पुर्‍याएको उल्लेख गर्दै उनले निगमको हकमा पनि त्यस्तै हुन लागेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यो बहिष्कार होइन, मेरो अन्यत्र विशेष काम भएकाले निस्किएको हुँ । सदनमा मेरो दलका अन्य सदस्यहरू हुनुहुन्छ, म पनि बाँकी अंश पछि सुन्नेछु ।’

उनले बजेटका सबै विषयवस्तुमाथि पछि विस्तृत अध्ययन गरी आफ्नो धारणा र टीकाटिप्पणी सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्